ओली र प्रचण्डबीच बिग्रहको बिजारोपण भइसक्यो: गगन थापा



फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारको स्थिरता चुनौतिको विषय भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा भागलिन नयाँ बानेश्वरस्थित संसद भवन पुगेका महामन्त्री थापाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारको स्थिरता चुनौतिको विषय भएको बताए ।

उनले अघिल्लो पटक वर्तमान सत्तारुढ गठबन्धनले गठबन्धन जोगाउन नसकेको भन्दै यसपटक पनि गठबन्धन टिक्नेमा आशंका व्यक्त गरे । निर्वाचन अगाडि एउटा गठबन्धन र निर्वाचन पछि अर्को गठबन्धनको स्वरुप भएकाले पनि सरकारको स्थिरतामा चुनौति भएको उनको भनाइ छ ।

महामन्त्री थापाले अहिलेको निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछि सरकार बन्ने र बदलिने कुरालाई सामान्य रुपमा लिनुपर्ने पनि बताए ।

‘यो निर्वाचन प्रणालीबाट जस्तो खालको संसद बन्यो । योभन्दा अघिल्लो पटक पनि हामीले निर्वाचनभन्दा अगाडी गठबन्धन गरेर गइसकेपछाडी संसदभित्रको त्यो गठबन्धनलाई उहाँहरुले जोगाउन नसकेको कुराको साक्षी बसेर आएको हो । अहिले त झन निर्वाचनभन्दा अगाडी एउटा गठबन्धन, निर्वाचनको लगत्तैपछि अर्को गठबन्धन बनेर यो संसदको यात्रा प्रारम्भ भएको छ । सरकारमा बसिरहेको दलहरु एक ठाउँ टिकीराखेर बस्ने कुरा नै, सरकारको स्थिरताको कुरा नै एकदमै धेरै ठूलो चुनौतिको रुपमा लिएको छु । तर यो निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछाडी सरकारहरु यसरी बन्छन् । बदलिन्छन् भन्ने कुरालाई सामान्य रुपमा स्वीकार गर्नुपर्‍यो’ उनले भने ।

महामन्त्री थापाले संसदको पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधनले उनीहरुका बीचमा बिग्रहको बिजारोपण भएको टिप्पणी गरे ।

ओलीले अघिल्लो प्रतिनिधि सभा विघटनलाई प्रतिगामी भन्नेहरु नै प्रतिगामी हुन भनेको भन्दै सो कुरा नै विग्रहको कारण बन्नसक्ने उनको भनाइ छ ।


क्लिकमान्डु