प्रचण्डप्रति मेरो पोजेटिभ नै धारणा छ: माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन् ।

सरकार कुन ढंगले अगाडि बढ्छ ? त्यसलाई हेरेर मात्रै उसलाई विश्वासको मत दिनेबारेमा निर्णय लिन सकिने अध्यक्ष नेपालको भनाइ थियो । शुक्रबार सर्वदलीय बैठकपछि नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले व्यक्तिगत रुपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको धारणा राखे ।

‘विश्वासको मतको बारेमा हामीले जम्मै पक्षहरुको विषयमा विश्लेषण गर्नेछौं । व्यक्तिगत रुपमा प्रचण्डजीप्रति मेरो पोजेटिभ नै धारणा छ । जहाँसम्म सरकार कुन ढंगले अगाडि बढछ, त्यो हेरिकन हामी टुंगो गर्छौं । सरकारलाई विश्वासको मत दिन हामीले त धेरै विश्लेषण गर्नुपर्छ । विश्लेषण गरेर बल्ल टुंगोमा पुग्नु पर्छ’नेपालले भने ।

उनले एमालेसँग एकताका विषयमा छलफल नभएको बताए ।

‘एमालेसँग एकता गर्ने विषयमा मलाई कसैले पनि केही भनेको छैन । व्यक्तिगत भावना राख्नेहरुको बेग्लै कुरा भयो । मप्रति सदभाव राख्नेहरुको कुरा बेग्लै हो । सदभाव राख्नेहरु सबैलाई धन्यवाद छ । भावना राम्रो हुनु आफ्नो ठाउँमा छ । तर त्यो भावना निजात्मक भईदियो भने त्यसको कुनै अर्थ नहुँदो रहेछ । त्यसकारण तपाईहरुले भनेजस्तो कुनै ठोस कुराहरु भएका छैनन्’ उनले भने ।

अध्यक्ष नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग भने एकताको लागि तत्काल वार्ता प्रक्रिया सुरु गर्ने बताए ।


क्लिकमान्डु