चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनप्रति ठूला उद्योगी असन्तुष्ट
काठमाडौं । चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा भएको संशोधनप्रति ठूला उद्योगी असन्तुष्ट भएका छन् ।
राष्ट्र बैंकले गत कात्तिक १ गतेबाट कार्यान्वयनमा आएको चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन बुधबार संशोधन गरेको थियो ।
राष्ट्र बैंकले साना व्यवसायीलाई केही सहुलियत दिने गरी मार्गदर्शन संशोधन गरेपनि ठूला उद्योगीलाई भने कुनै राहत नदिएको उद्योगी व्यवसायीको आरोप छ ।
‘जिल्लामा भइरहेको आन्दोलनलाई स्थगित गराउन चालु पुँजी प्रकृतिको ५० लाख रुपैयाँ कर्जा लिँदा समेत मार्गदर्शन पालना गर्नु पर्नेमा उक्त सीमा संशोधन गरेर १ करोड रुपैयाँ पुर्याइएको छ,’एक उद्योगीले भने,‘ राष्ट्र बैंकको नीतिले साना व्यवसायीलाई केही राहत दिए पनि ठूला उद्योगीको समस्या भने संबोधन गर्न सकेको छैन ।’
राष्ट्र बैंकले विगतमा गरेको प्रतिवद्धता अनुसार उद्योगको प्रकृति अनुसार फरक किसिमको सुविधा दिने गरी मार्गदर्शन संशोधन नगरेको नेपाल उद्योग परिसंघ आवद्ध उद्योगी व्यवासायीको आरोप छ ।
विगतमा सीमा भन्दा बढी लिएको कर्जा ५ किस्तामा तिर्नु पर्ने व्यवस्था उद्योगीको पक्षमा नभएको नेपाल उद्योग वाणिज्य महासंघ आवद्ध एक उद्योगी बताउँछन् ।
‘कर्जा दुरुपयोग गरेका व्यक्तिलाई राष्ट्र बैंकले सहुलियत दिएको छ । साना उद्योगी/व्यवसायीलाई समेत राष्ट्र बैंकले लचिलो व्यवस्था गरिएको छ,’एक उद्योगी भन्छन्,‘तर, उत्पादनमुलक उद्योग सञ्चालन गरिरहेका उद्यमीलाई राष्ट्र बैंकले कुनै सहुलियत दिन मानेको छैन ।’
बुधबार राष्ट्र बैंकले मार्गदर्शन संशोधन गरेपछि त्यसमाथी धारणा सार्वजनिक गर्न महासंघको आकष्मिक बैठक समेत बसेको थियो ।
तर, उक्त बैठकमा सहभागी सबै व्यक्ति बीच समान धारणा बन्न नसकेपछी महासंघले आधिकारीक धारणा सार्वजनिक गर्न सकेन ।
उद्योग परिसंघमा आवद्ध अधिकासं ठूला उद्योगीहरु सबै उद्योगलाई एउटै नीति लागु हुने मार्गदर्शनको व्यवस्थाबाट असन्तुष्ट छन् । परिसंघका उपाध्यक्ष अग्रवाल उद्योगको प्रकृति अनुसार चालू पुँजीको आवश्यकता फरक हुने भएकाले सबैलाई एउटै नीति बनाउन उपयुक्त नभएको बताउँछन् ।
राष्ट्र बैंकका एक अधिकारी राष्ट्र बैंकले ठूला उद्योगीभन्दा साना ऋणीलाई सहुलियत दिने गरी मार्गदर्शन संशोधन गरिएको स्विकार गर्छन् ।
‘विगतमा ५० लाख रुपैयाँ कर्जा लिँदा समेत मार्गदर्शन आकर्षित हुँदा साना साना व्यवसायीलाई पनि अप्ठ्यारो भएको गुनासो आएको थियो,’ ती अधिकारीले भने,‘अब ३ करोड रुपैयाँ सम्म ऋण लिएका व्यक्तिले १ करोड रुपैयाँ सम्म चालू पुँजी प्रकृतिको कर्जा लिने र बाकीं रकमलाई १० वर्षे किस्ता बनाएर पनि तिर्न सक्छन् ।’
एक वाणिज्य बैंकका उच्च अधिकारी राष्ट्र बैंकले पहिलो चरणमा जिल्ला तहमा भइरहेको आन्दोलनलाई मत्थर बनाउने गरी साना व्यवसायीलाई केही राहत दिन खोजेको बताउँछन् ।
‘तत्कालै जग्गा बस्ने घर बिक्री गर्ने ऋण तिर्नु पर्ने बाध्यता केही पर सरेको छ,’ एक वाणिज्य बैंकका अधिकारीले भने,‘१ करोड रुपैयाँको सीमा र बिचमा स्थाईं प्रकृतिको कर्जा तिर्दा थप शुल्क लिन नमिल्ने व्यवस्थाले समेत साना व्यवसायी खुसी नै हुन्छन् ।’