माधव नेपाललाई राष्ट्रपति बनाउन एमालेले यति सजिलोसँग प्रस्ताव राख्दैन: उपहासचिव तुलाधर



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्नेमा जोड दिएका छन् ।

शनिबारदेखि जारी नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरुले दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

जारी बैठकमा अधिकांश सदस्यले विगतमा सहकार्य गरेको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने मत राखेका नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।

एकीकृत समाजवादीले सरकारलाई समर्थन नगरे पनि सरकारले निरन्तरता लिने भएकाले समर्थन गर्नु उपयुक्त हुने अधिकांश नेताहरुको धारणा रहेको उनले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले सरकारमा सहभागि हुन औपचारिक रुपमा प्रस्ताव नपठाएको खण्डमा पार्टी सरकारमा भने जानु नहुने नेताहरुले निस्कर्ष निकालेका छन् ।

उनले एकीकृत समाजवादीका नेता, कार्यकर्ताहरुलाई भ्रममा पार्नका लागि एमालेका मान्छेहरुले पार्टी एकताको हल्ला चलाएका आरोप लगाए । पार्टी एकताको हल्ला चलाएर एकीकृत समाजवादीको कार्यकर्ताहरुलाई भुलभुलैयामा राख्ने षड्यन्त्र भइरहेको उनको भनाइ छ ।

एमालेसँग एकताको लागि कुनै प्रयास नभएको उनको दाबी छ ।

‘पार्टी एकताका सवालमा जे खालका चर्चा चलिरहेको छ, त्यो चर्चा नेकपा (एमाले) का केही मान्छेहरुले मात्र चलाएका कुराहरु हुन् । त्यसमा कुनै पनि हिसावले त्यो भ्रममा हामी पर्नुहुँदैन । हामी यसबाट जोगिनुपर्दछ । एकता हुन्छ भनेर हाम्रो कार्यकर्ता पंक्तिलाई भुलभुलैयामा राख्ने खालको जस्तो जुन षड्यन्त्र भइरहेको छ, यसबाट प्रष्ट हुनुपर्छ अहिले एकताको कुनै प्रयास उताबाट पनि भएको छैन र यताबाट पनि भएको छैन । अनौपचारिक रुपमा कुराहरु कहीँ कसैले गरिरहेका छन् भने त्यो बेग्लै कुरा हो भन्ने ढंगले कुराहरु उठेका छन्’ उनले भने ।

उपमहासचिव तुलाधरले अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति दिएर एमालेले पार्टी एकता गराउन लागेको भन्ने कुरालाई हावाको संज्ञा दिए ।

‘कहाँबाट कसरी आयो, यो हावामै आयो । हावामै गयो जस्तो लाग्छ । त्यति सजिलोसँग नेकपा(एमाले)को तर्फबाट फेरि माधवकुमार नेपाल त्यो पनि एकीकृत समाजवादीका अध्यक्षलाई यस्तो ठूलो प्रस्ताव यति छिट्टै सजिलोसँग राख्लान् जस्तो लाग्दैन । त्यो गरेको पनि हो जस्तो मलाई लागिराखेको छैन । त्यस्तो खालको चर्चा कतै भएको भए हाम्रो पक्तिलाई भ्रमित पार्नको निम्ति गर्‍यो भन्ने जस्तो लाग्छ’ उनले भने ।


क्लिकमान्डु