आगमी तीन दिन अत्याधिक चिसो बढ्ने, ४ दिन सितलहरको उच्च सम्भावना



काठमाडौं । आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।

पछिल्लो केही दिन यता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरुको सुझाव छ । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए ।

उनले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा सितलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे । उनले अबका केही दिनमा चिसो अत्याधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दिर्घरोगी, मुटुका रोगीहरुले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताए ।

उनले पश्चिम बंगालमा सिर्जना भएको न्युन चापिय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताए । उनले मर्निङ वाकमा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताए ।

उनले फोक्सोको क्यानसरदेखि श्वासप्रश्वासमा समस्या, मुटुका बिरामीहरुमा समस्या र बालबालिका र वृद्धवृद्धामा चिसोको असर बढी हुने बताए ।

जलवायुविज्ञ उप्रेतीले जनवरी, फ्रेब्रुअरी र मार्चमा न्युनतम तापक्रम औसतभन्दा तल हुने र वर्षा पनि कम हुने बताए । उनले हिउँदामा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायुप्रदुषणमा पर्ने बताए ।

जलवायुविज्ञ डा. उप्रेतीले अहिले समुन्द्री सतहको तापक्रम औसत भन्दा कम रहेकाले चिसो बढीरहेको बताए । उनले न्युनतम तापक्रम घट्दै जाँदा चिसो र सितलहर बढाउने भएकाले जनवरी ४ सम्म देशको पश्चिमी भागमा यसको असर पर्ने भन्दै सचेत रहन आग्रह गरे ।

तापक्रममा हुने परिवर्तन र वायुमण्डलमा हुने परिवर्तनका कारण विश्वको तापक्रमलाई असर गर्ने भन्दै नेपालले पनि चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउनु जरुरी रहेको बताए ।

हिउँद महिनामा पानी नपर्दा वायुमण्डलमा प्रदुषण बढ्ने बताए । गत वर्षको यो सिजनमा पानी परिसकेको भएपनि यसवर्ष भने पानी नपरेकाले झनै समस्या सिर्जना हुनसक्ने बताए । उनले मौसम अनुकुल नहुँदा पश्चिम तराईका केही जिल्लाहरुमा चिसोका कारण बिरामीहरु बढेको र आगामी दिनमा काठमाडौंसहित पहाडी जिल्लाहरुमा समेत यसको प्रभाव देखिने बताए ।


क्लिकमान्डु