आजको मौसमः हल्का वर्षाको सम्भावना



काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।

सो प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै देशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।

राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही प्रदेश नं १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा तथा प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै भू-भागमा हुस्सु-कुहिरो लागेको अवस्था रहेको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १५ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव एक डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।


क्लिकमान्डु