प्रधानमन्त्री पोखरा जाँदै, यस्ता छन् कार्यक्रम
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा जाने भएका छन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा जान लागेका हुन् ।
प्रधानमन्त्री बिहान ११ बजे पोखरा पुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि आउने कार्यक्रम छ । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नेछन् ।
यस्ता छन् कार्यक्रम
विमानस्थल सञ्चालनमा आउने पहिलो दिन आज काठमाडौँबाट यात्रुसहित उडेको पहिलो विमान ७.३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
पहिलो विमानबाट आएका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिने उनले जानकारी दिए । विमानस्थल शुभारम्भकै अवसरमा बिहान १० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट विमानस्थलसम्म ¥याली आयोजना गरिएको छ । ¥यालीका सहभागी अमरसिंहचोकबाट विमानस्थलसम्म पुगेर ११ बजे हुने उद्घाटन समारोमा सहभागी बन्नेछन् । उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।
उद्घाटनपश्चात दिउँसो २ बजेदेखि ४ बजेसम्म विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने ४ बजेदेखि ५.५० बजेसम्म ‘फेसन शो’ को कार्यक्रम तय गरिएको छ । साँझ ६ बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिए ।
विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा साँझ ६ बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ । उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द हुने जनाएको छ