कांग्रेसले धोका दिएकाले नयाँ गठबन्धन: माओवादी



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को तर्फबाट पहिलो चरणमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीका तर्फबाट पहिलो चरणको मन्त्रिमण्डलमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधानमन्त्री बन्ने निर्णय भएको जानकारी दिए ।

यसअघिको नेपाली कांग्रेससँगको गठबन्धनमा सहमतिअनुसार अघि नबढेर कांग्रेसले धोका दिएको दाबी गरे । उनले पहिलो चरणमा गठबन्धनबाट माओवादीले नेतृत्व गर्ने सहमति भएपनि कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै छोड्न तयार नभएपछि विकल्प खोज्नुपरेको बताए ।

‘हामीले १२ बजेसम्म प्रयास गरिरहेका थियौं । त्यो बेलासम्म पनि हामीलाई पहिला अवसर नदिने भएपछि हामी अर्को गठबन्धन बनाएका हौँ । राष्ट्रपति पनि नदिने र प्रधानमन्त्री पनि नदिने भनेपछि हामी अर्को विकल्पमा गएका हौँ । अर्कोतिर समझदारी भएर प्रधानमन्त्री हामीले प्राप्त गर्‍यौं । हामीले धैर्यताका साथ कुरेका थियौँ तर अडान नछोडेपछि हामीले विकल्प खोजेका छौँ । यसमा कुनै अनौठो मान्नुपर्दैन । आज ४ बजेको शपथपछि सानो मन्त्रिपरिषद् बन्छ । हाम्रो पार्टीका तर्फबाट बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पहिलो चरणमा मन्त्री बन्नुहुन्छ ’उनले भने ।


क्लिकमान्डु