बालकोटमा माओवादीसहितका ४ दलको बैठक, रवि लामिछाने पनि सहभागी



काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसबाहेक दलहरुले गठबन्धन गरेर नयाँ सरकार गठनको प्रयास शुरु गरेका छन् ।

शक्ति बाँडफाँटका लागि आइतबार बिहान बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धनका दलहरुबीच भागबण्डा नमिल्दा कांग्रेस नेतृत्वको गठबन्धन संकटमा परेको हो भने, दोस्रो ठूलो दल नेकपा एमालले सरकार गठनका लागि दलहरुसँग छलफल थालेको छ ।

बालुवाटारबाट बाहिरिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका छन् । बालकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि पुगेका छन् ।

प्रतिनिधि सभामा सरकार गठनकालागि १३७ सिट आवश्यक पर्छ । कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा ८९ सिट पाएको छ । त्यस्तै एमाले (७८), माओवादी केन्द्र (३२), राष्ट्रिय स्वतन्त्र पार्टी (२०) र राष्ट्रिय प्रजातन्त्र पार्टी (१४) सिट रहेको छ । कांग्रेस बाहेकका यी दल मिल्दा १४४ सिट पुग्छ ।

त्यसमा जसपा र नेकपा एकीकृत समाजवादी थपिए १६६ सिट पुग्नेछ । कांग्रेसलाई बाहिर राखेर सरकार गठन गर्दा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले पाँच दलको गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेर सरकार निर्माणको प्रयास थालेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएकी छिन् ।


क्लिकमान्डु