तरलता अभाव र ब्याजदर वृद्धिले ६६ प्रतिशतले घट्यो लगानी प्रतिबद्धता



काठमाडौं । बजारमा लगानीयोग्य पुँजी नहुँदा मंसिर महिनामा ६६ प्रतिशतले लगानी प्रतिबद्धता घटेको छ । अहिले बजारमा चरम तरलता अभाव छ । साथै, ब्याजदर वृद्धिले गर्दा नयाँ उद्योगमा लगानी आउन सकेको छैन ।

बजारमा लगानीयोग्य पुँजी नभएको र ब्याजदर वृद्धिले गर्दा करिब ७० प्रतिशत व्यवसायी थप लगानीबाट पछि हटेको नेपाल उद्योग परिसंघको एक अध्ययनले देखाएको छ । अध्ययनअनुसार विभिन्न क्षेत्रका व्यवसायीहरु ६९.४४ प्रतिशतले थप लगानीबाट पछि हटेका हुन् ।

परिसंघले गरेको अध्ययनमा कृषि क्षेत्रका ८५.७१ प्रतिशत, अटोमोबाइल क्षेत्रका शतप्रतिशत, सिमेन्ट उत्पादन क्षेत्रका ८३.३ प्रतिशत, इन्जिनियरिङ र निर्माण कम्पनी क्षेत्रको ७१.४ प्रतिशत, ई–कमर्स क्षेत्रको ५० प्रतिशत, एफसीजी क्षेत्रको ४१.७ प्रतिशत, एपलपीजी ग्यासको ५० प्रतिशत, आइटी क्षेत्रको ४५.५ प्रतिशत र अन्य क्षेत्रको ७२.२ प्रतिशत व्यवसायी थप लगानीबाट पछि हटेका छन् ।

त्यस्तै, प्लास्टिक क्षेत्रको ८० प्रतिशत, रियल स्टटे क्षेत्रको ४० प्रतिशत, एसएमईज क्षेत्रको ४२.९ प्रतिशत, स्टिल क्षेत्रको ८५.७ प्रतिशत र गार्मेन्ट क्षेत्रको ८५.७ प्रतिशत व्यवसायी तरलता अभाव र ब्याजदर वृद्धिले गर्दा थप लगानी गर्नबाट पछि हटेको अध्ययनले देखाएको छ ।

अहिले बजारमा कच्चा पदार्थको समग्र मूल्य २३ प्रतिशतले बढेको र ब्याजदर बढेर करिब १४ प्रतिशत पुगेको छ । यो अवस्थामा कुनै पनि क्षेत्रका व्यवसायीले जोखिम मोलेर थप लगानी ल्याउन नसक्ने व्यवसायीहरुको भनाइ छ ।

उद्योग विभागको तथ्याङ्कले पनि मंसिर महिनामा लगानी ह्वात्तै घटेको देखाउँछ । गत वर्षको मंसिर महिनाको तुलनामा यो वर्षको सोही अवधिमा ६६.३८ प्रतिशतले घटेको विभागको तथ्याङ्कले उल्लेख गर्छ ।

गत वर्षको मंसिर महिनामा देशभर १८ वटा उद्योग दर्ता हुँदा १६ अर्ब ९८ करोड १९ लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएका थिए । तर, यो वर्षको सोही अवधिमा १० वटा उद्योग दर्ता हुँदा ५ अर्ब ७० करोड ९३ लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, गत वर्षको मंसिर महिनामा ७ वटा ठूला, ७ वटा मध्यम र ४ वटा साना उद्योग दर्ता भएका थिए । त्यसमध्ये ४ वटा विदेशी लगानीका उद्योग दर्ता भएका थिए ।

तर, यो वर्षमा १० वटा उद्योग दर्ता हुँदा अधिकांश उद्योग साना खालका छन् । यो वर्षको मंसिर महिनामा ठूलो उद्योगको रुपमा दर्ता भएको ओम पावर कम्पनीले ३ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । उक्त अवधिमा ६ वटा साना र ३ वटा मध्यम वर्गको उद्योग दर्ता भएका छन् ।

साथै, मंसिर महिनामा दुई वटा मात्रै विदेशी लगानीको उद्योग दर्ता भएका छन् । उक्त उद्योगबाट १० करोड २७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । जसमा ल्यान्ससफ्ट नेपाल प्रालिले ५ करोड २७ लाख रुपैयाँ र सर्वोत्तम मेडिकल सेन्टर प्रालि उद्योगले ५ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।


क्लिकमान्डु