सुन बेचेर भएपनि ब्याज तिर्न बैंकको ताकेता, तनाबमा व्यवसायी



काठमाडौं । बैंकले सुन बिक्री गरेर भएपनि ब्याज तिर्न व्यवसायीलाई दबाब दिन थालेका छन् । असोज मसान्तको समेत ब्याज उठाउन नसकेका बैंकहरुले सुन बिक्री गरेर ब्याज तिर्न भनिरहेको एक व्यवसायीले जानकारी दिए ।

‘बैंकले सावाँ ब्याज तिर्न ताकेता गरेपछि जग्गा बिक्री नहुँदा एक रुपैयाँ पनि तिर्न नसक्ने जानकारी गराएको थिए,’एक व्यवसायीले भने, ‘बैंकको ब्रान्च म्यानेजरले सुन बिक्री गरेर भएपनि सावाँ ब्याज तिर्न भनेका छन् ।’

बैंकले सावाँ ब्याज तिर्न निरन्तर ताकेता गरेपछि फोन स्विच अफ गरेर भाग्नु पर्ने अवस्था एक व्यवसायी बताउँछन् ।

‘जग्गा बिक्री भएको छैन । शेयर बजार घटेको छ । कारोबार ठप्प भएर व्यवसाय बन्द गर्नु पर्ने अवस्था आएको छ,’व्यवसायीहरु भन्छन्,‘ यस्तो अवस्थामा बैंकले जतिसुकै दबाव दिएपनि जग्गा बिक्री नहुँदा सम्म सावाँँ ब्याज तिर्न सकिने अवस्था छैन ।’

एक बैंकका ब्रान्च म्यानेजर अहिले सावाँ ब्याज उठ्ने अवस्था नभएको बुझेपनि हेड अफिसले प्रेसर दिएपछि ग्राहकलाई ताकेता गर्न परेको बताउँछन् ।

‘अहिले हामीलाई नयाँ कर्जा नदिन निर्देशन छ,’ एक बैंकका अधिकारी भन्छन्,‘हेड अफिसले जसरी पनि पुरानो कर्जा उठाउन निर्देशन दिएको छ । ग्राहकले सावाँ ब्याज तिर्न नसक्ने बताउँनु हुँन्छ । हामी काम गर्न कठिन भएको छ ।’

असोजमा करिब २० प्रतिशत ब्याज उठाउन नसकेका बैंकलाई पुष मसान्तमा त्यो भन्दा बढी ब्याज नउठ्ने तनाब छ । जसले गर्दा बैंकले जुन सुकै चल/अचल सम्पत्ति बिक्री गरेर भएपनि सावाँ ब्याज तिर्न ताकेता गरेका हुन् ।


क्लिकमान्डु