आगामी पुस पहिलो हप्तामा ३० हजार मेट्रिक टन मल नेपाल आइपुग्ने



काठमाडौं । कृषि पशुपन्छी तथा विकास मन्त्रालयले आगामी पुस पहिलो हप्तामा ३० हजार मेट्रिक टन मल नेपाल आइपुग्ने जनाएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सान्जेलले जीटुजीमार्फत् मल आयातका लागि सम्झौताअनुसार आगामी पुसको पहिलो हप्तामा ३० हजार मेट्रिक टन युरिया मल नेपाल आइपुग्ने बताए ।

सरकारले चालु आर्थिक वर्षमा मल खरिद व्यवस्थापनका लागि १५ अर्ब बजेट विनियोजन गरेको थियो । साथै, सरकारले साउन महिनामा अर्थ मन्त्रालयबाट थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको मन्त्रालयले जनाएको छ ।

जसमा चालु आर्थिक वर्षको हालसम्ममा कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत् २ लाख ५७ हजार मेट्रिक टन मल खरिदका लागि जीटुजीमार्फत् टेन्डर आह्वान भएकोमा १ लाख १० हजार मेट्रिक टन आयात गरिसकेको छ । त्यसमध्ये ८६.५ हजार मेट्रिक टन वितरण भइसकेको मन्त्रालयको भनाइ छ ।

त्यस्तै, अहिले सरकारसँग ४२ हजार ९८३ मेट्रिक टन मल मौज्दात छ ।

मन्त्रालयअनुसार अहिले २१ हजार ७६४ मेट्रिक टन युरिया, १९ हजार २८६ मेट्रिक टन डीएपी र १९ सय ३२ मेट्रिक टन पोटास रहेको छ ।

उक्त मल कृषि सामग्री कम्पनीसँग ३५ हजार ४४९ मेट्रिक टन र साल्ट ट्रेडिङसँग ७ हजार ९३४ मेट्रिक टन मल मौज्दात छ ।

हालसम्ममा मन्त्रालयले ८६ हजार २४६ मेट्रिक टन बिक्री गरिसकेको जनाएको छ । साथै, १५ हजार मेट्रिक टन युरिया मल आयात भइरहेको मन्त्रालयको भनाइ छ ।


क्लिकमान्डु