प्रतिनिधि सभामा रहेका सबै विधेयक निष्क्रिय, राष्ट्रिय सभाका यथावतः संसद सचिवालय



काठमाडौं । संघीय संसदको एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल शुरु हुने तरखर छ ।

मंसिर ४ गते भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी नै छ । अधिकांश स्थानमा भने मत परिणाम आइसकेको छ ।

निर्वाचन परिणामलाई नियाल्दा कुनै पनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन । नेपाली कांग्रेस र नेकपा एमाले मध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरुको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ ।

मत परिणाम अन्तिम चरणमा पुगेसँगै आम मानिसमा संघीय संसदमा दर्ता भएका विधेयकहरु अब के होलान् ? भन्ने चासो र चिन्ता छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निष्क्रिय भइसकेको र केही भने विचाराधीन अवस्थामा रहेको बताए ।

उनले प्रतिनिधि सभामा उत्पति भएर प्रक्रियागत रुपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरु निष्क्रिय भइसकेको बताए ।

राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरु भने अधिवेशन शुरु भएपछि सोही अवस्थाबाट शुरु हुने उनको भनाइ छ ।

राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधिन रहेका विधेयकहरु १२ वटा छन् । सहायक प्रवक्ता धमलाले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका बाहेकका विधेयकहरु भने निष्क्रिय भइसकेको बताए ।

उनले यदी सरकारले तिनै विधेयकहरु ल्याउन चाहेको खण्डमा भने फरक ढंगले ल्याउनु पर्ने र ति विधेयकहरुको पुनः नयाँ प्रक्रिया (जिरोबाट) शुरु हुने बताए ।

‘संघीय संसदको एक कार्यकाल पूरा भएको छ । यो चरणमा संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निष्क्रिय भएका छन् । प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रुपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरु निष्क्रिय हुने भन्ने व्यवस्था छ’ उनले भने, ‘ तर राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधिन रहेका विधेयकहरु १२ वटा छन् । ति विधेयकहरु विचाराधिन अवस्थामा नै छन् । अधिवेशन शुरु भएपछि जुन अवस्थामा रहेका छन्, त्यही अवस्थाबाट शुरु हुन्छन् । ती भन्दा बाहेकका अरु सबै विधेयकहरु निष्क्रिय भए । यदी सरकारले तिनै विधेयकहरु ल्याउन चाह्यो, फरक ढंगले ल्याउन चाह्यो वा कुनैपनि विधेयक संघीय संसदमा दर्ता गर्न ल्याए फेरि ति विधेयकहरुको नयाँ प्रक्रिया शुरु हुन्छ । जिरोबाट शुरु हुन्छ । राष्ट्रिय सभाबाट आएका राष्ट्रिय सभाबाट नै अघि बढ्छन्, प्रतिनिधि सभाबाट आए प्रतिनिधि सभाबाट नै अघि बढ्छन् ।’


क्लिकमान्डु