स्वतन्त्र पार्टीबारे ओलीको टिप्पणी: अस्तिसम्म स्याप्पै थियो, हावा नहाली कसरी यत्रो भयो ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना गरेका छन् । उनले अमेरिकामा रहेको पार्टीको नाम र चुनाव चिह्न राखिएको भन्दै रास्वपाको आलोचना गरेका हुन् ।

अमेरिकामा रहेको फ्रिडम पार्टी र त्यसको चुनाव चिन्ह घण्टीकै झलक दिनेगरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै अध्यक्ष ओलीले आलोचना गरेका हुन् । उनले संयोगनै भए पनि यसले मुलुकको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने उनको दाबी थियो ।

पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र झण्डा तथा अमेरिकाको फ्रिड्म पार्टीको नाम र झण्डा फोटोकपीको रुपमा आएको उल्लेख गर्दै त्यसले नेपालको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने बताए ।

ओलीले अर्काको नक्कल गर्ने, अरुको इतिहास पढ्ने र सुन्ने यस खालको गतिविधिले नेपालको गर्व गर्न लायक इतिहासलाई बिर्साउने खतरा रहेको बताए । ओलीले लामिछाने नेतृत्वको दललाई ह्वात्तै फुलेको बेलुनको संज्ञा दिए ।

‘हामीले आफैलाई बिर्सियौं । आफूप्रति गर्व गर्न छाड्यौं । आफ्नो संस्कृति र पहिचान मेटाउन लाग्यौं । दुरुस्तै अर्काको नक्कल गर्न थाल्यौं । संयोग नै भन्नुपर्ला–अमेरिकामा एउटा फ्रिडम पार्टी छ, फ्रिड्म पार्टी अफ अमेरिका । त्यसको चुनाव चिन्ह पनि घण्टी छ । दुरुस्तै खालको घण्टी यहाँ पनि आएको छ । संयोग नै होला ।’

ओलीले भने,’ अस्तिसम्म स्याप्पै थियो त्यो बेलुन । तर, हावा नहाली कसरी भयो यत्रो ? केही त होला । त्यतातिर पनि नजाउ । मैले खाली हाम्रो संस्कृति, हाम्रो पहिचान रक्षा गरेर मात्रै हाम्रो पहिचानलाई कायम गर्न सकिन्छ भन्न खोजेको हुँ ।’


क्लिकमान्डु