पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सम्पन्न



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सम्पन्न भएको छ ।

मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्सिर ५ गतेदेखि १२ गतेसम्म यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन भएको थियो ।

थाइल्याण्डको एरोनटिकल रेडियोद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान निरीक्षण सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गरिएको थियो । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिन्छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पोखरालगायत देशका अन्य विमानस्थलमा यान्त्रिक उडानका लागि एरोथाई कम्पनीको जहाज गत काठमाडौं आएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत देशका अन्य विमानस्थलको यान्त्रिक उडान सकेर आगामी डिसेम्बर ५ मा एरोथाइको जहाज फर्किने छ । एरोथाइको जहाजले देशभरका आन्तरिक विमानस्थलको उपकरण जाँचमा नियमित परीक्षण उडान गर्नेछ ।

राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए ।

करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी करिब २२ अर्ब हुने प्राधिकरणले जनाएको छ। विमानस्थलको हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाई तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ ।

ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको पोखरा विमानस्थल नजिकै रिट्ठेपानी डाँडा कटानको पहिलो चरणको कार्य सकिएको छ । उक्त डाँडो हालसम्म १४ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ।

धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ। यान्त्रिक उडानका लागि सुरुमा १४ मिटर डाँडा कटान गरिएको हो ।


क्लिकमान्डु