बल प्रयोग गरेर सुकुम्बासी बस्ती हटाउन मिल्दैनः राष्ट्रिय भूमि आयोग



काठमाडौं । राष्ट्रिय भूमि आयोगले थापाथलीस्थित सुकुम्बासी बस्तीमा बल प्रयोग गरेर हटाउन नमिल्लेन बताएको छ ।

आयोगका उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्काले क्लिकमाण्डुसँग कुरा गर्दै लगत संकलन गरेर प्रमाणीकरण गरिने भएकाले महानगरले बल प्रयोग गरेर बस्ती हटाउन नमिल्ने बताए ।

‘त्यहाँ सुकुम्बासी हुन् वा होइनन् भन्ने प्रमाणीकरणको प्रश्न छ,’ खड्काले भने, ‘महानगरले तथ्यांक संकलन र लगत संकलन गरेर प्रमाणीकरण गरे हुन्छ । सुकुम्बासी प्रमाणित भएकालाई त्यहाँ मिल्ने ठाउँमा जग्गा भएमा त्यहाँ दिइन्छ । नमिल्नेलाई स्थानान्तरण गर्ने कुरा हुन्छ । जमिन दिनपर्ने हो वा नदिनुपर्ने हो भन्ने पनि प्रमाणीकरण हुन्छ । तर, तत्कालै बल प्रयोग गरेर हटाउन मिल्दैन ।’

हाल आयोगले देशभरका ६७३ वटा स्थानीय तहमा लगत संकलनको काम गरिरहेको छ । आयोगले एकीकृत बागमती सभ्यता समितिलाई पत्राचार गर्दै थापाथलीस्थित सुकुम्बासी बस्तीबाट लगत संकलन गरेर प्रमाणीकरणपछि अन्य प्रक्रिया अगाडि बढाउने जानकारी गराएको खड्का बताउँछन् ।

‘हामीले पत्र पनि काटेका छौं, एकीकृत बागमती सभ्यता समितिलाई,’ उनले भने, ‘हाम्रो कुरा भनेको लगत संकलन सकियोस भन्ने हो । जमिन दिन पर्ने को हो र नदिनुपर्ने को हो भन्ने आउँछ । मिल्नेलाई त्यहिँ दिइन्छ । नमिल्नेलाई दिइँदैन । बल प्रयोग गरेर हटाउन मिल्दैन ।’

खड्काकाअनुसार महानगरले उक्त बस्तीमा डोजर चलाउन गएको विषयमा आयोगलाई कुनै पनि जानकारी छैन । उनले भने, ‘महानगरले जानकारी पनि दिएको छैन । हामीलाई केही पनि थाहा छैन । पहिले यस्तो हुँदा निवेदन आउथ्यो । तर, अहिलेसम्म निवेदन पनि हाल्नु भएको छैन । आज निवेदन लिएर आउनुहुन्छ होला ।’

एकीकृत बागमती सभ्यता विकास समितिले नदी किनारामा रहेका घरटहरा तथा निर्माण सामग्रीलाई मंसिर ४ भित्र हटाउन सूचना जारी गरेको थियो ।

म्याद सकिएको ८ दिनपछि सोमबार (आज) काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा तनाव सिर्जना भएको छ ।

बस्ती क्षेत्रका संरचनालाई हटाउन पुगेको काठमाडौं महानगरपालिकाको टोलीमाथि बस्तीकाले ढुंगामुढा गरेका छन् । महानगर प्रहरी तथा नेपाल प्रहरीमाथि घरेलु हातहतियारका साथ प्रस्तुत भएका स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र गृहमन्त्रीविरुद्धमा चर्को नारावाजी गरेका छन् ।


क्लिकमान्डु