महेशपुरमा एकदिने रोजगार परामर्श मेला



विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ(एसीसीआई) प्रदेश नम्बर १ लगायतका संस्थाहरूले सोमबार एकदिने रोजगार परामर्श मेला आयोजना गरेका छन् । सो मेला अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ) को वेलकम होम परियोजनाको सहयोग तथा सहकार्यमा एसीसीआई केन्द्र र प्रदेश नम्बर १ एवं कटहरी गाउँपालिकाको आयोजनामा गरिएको हो ।

मेला कटहरी गाउँपालिका १ स्थित फलफूल तथा कृषि थोक बजार महेशपुरमा आयोजना गरिएको थियो । मेला उद्घाटनका क्रममा सीएनआईका केन्द्रीय सदस्य अविनाश बोहोराले रोजगारदाता र सेवाग्राहीहरूबीच प्रत्यक्ष भेटघाट र परामर्श गर्ने उद्देश्य मेलाको आयोजना गरिएको बताए ।

उनले श्रम बजारमा हरेका वर्ष ५ लाख व्यक्ति आउने र त्यसको ७० प्रतिशत विदेशिने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले भने ‘स्वदेशमा रोजगारीका अवसर प्रधान गर्ने प्रशस्त उद्योगधन्धाहरू स्थापना हुन नेकेर यस्तो अवस्था आएको हो ।’

सोही क्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले यसखाले मेलाहरूले कृषि उद्यमी र विदेशबाट फर्किएका युवाहरूलाई समेटेर लाने उद्देश्य राख्नुपर्ने सुझाव दिए । उनले कृषिमा संलग्न जनशक्तिलाई सरकारले पनि पूर्णरूपमा सहयोग गर्न नसकेको कारण खाद्यान्न आयात गर्नुपर्ने बाध्यता आइपरेको बताए । यस्ता मेलाले कृषि क्षेत्रको जनशक्ति उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनले सुझाब दिए ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले विदेशबाट फर्किएका युवाहरूको सीपलाई प्रयोग गर्न सके यस्ता मेलाको उद्देश्य पूरा हुने बताए । मेलाका भेटिएकी लोतनीकुमारी साहले आफू गरीब भएको कारण केही काम गर्न पाइन्छ कि भनेर यहाँ आएको बताइन् ।

त्यस्तै राजनीतिक कार्यकर्ता कमल कार्कीले कटहरी गाउँपालिका क्षेत्रमा उद्योगधन्धा प्रशस्त भएर पनि भारतबाट श्रमिक ल्याएर काम गर्नुपर्ने अवस्था छ, मेलाबाट स्वदेशमै सीपमूलक जनशक्ति उत्पादन गर्न र रोजगारी दिलाउने उद्देश्य राखे राम्रो हुने बताए ।

मेलामा आधा दर्जन रोजगारदाताका स्टलहरू राखिएका छन् । ती स्टलहरूबाट बेरोजगार युवा तथा बयस्क व्यक्तिहरूले परामर्श लिएका थिए । मेलामा विद्यार्थी, कृषक, श्रमिकलगायतको सहभागिता रहेको एनसीसीआई प्रदेश १ का कार्यकारी निर्देशक राधारमण भण्डारीले बताए ।


क्लिकमान्डु