मौद्रिक नीतिको समीक्षा आज सार्वजनिक हुँदै, के आउला नयाँ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ ।

नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार आज साँझसम्म मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी रहेको छ ।

समिक्षा सार्वजनिक गर्नका लागि आजै मध्यान्न ४ बजे सञ्चालक समितिको बैठक राखिएको छ । केन्द्रीय बैंकले समिक्षाको सबै काम सकिसकेको छ । आइतबार बस्ने सञ्चालक समितिले बैठकले निर्णय गरेमा समीक्षा आजै सार्वजनिक हुनेछ ।

अहिले बढ्दो ब्याजदर सबैको चासोको विषय रहेको छ । निजी क्षेत्रले बैंकको ब्याजदर घटाउने पर्ने पक्षमा रहेका छन् । केही समयअघि उनीहरुले आन्दोलन समेत गरेका थिए । तर केन्द्रीय बैंक हाल भएको ब्याजदर नबढाउने र नघटाइ केही समय स्थिर राख्ने पक्षमा देखिएको बताइन्छ ।

आजै सार्वजनिक हुन लागेको समिक्षाले यो विषयलाई कसरी सम्बोधन गर्ने हो सबैको चासोको विषय बनेको छ । गत कात्तिक एक गतेदेखि कार्यान्वयनमा आएको चालु पुँजी सम्बन्धी नीतिमा संशोधन गर्न निजी क्षेत्रको माग रहेको छ । त्यसमा राष्ट्र बैंकले कस्तो नीति लिने हो यो सबैको चासोको विषय बनेको छ ।


क्लिकमान्डु