सरकारी ऋणको गतवर्ष मात्रै १ खर्ब २१ अर्ब साँवा-ब्याज भुक्तानी
काठमाडौं । नेपालको सार्वजनिक ऋण बढ्दै गएसँगै त्यसका लागि हरेक वर्ष तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि थपिँदै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा मात्र नेपालले कुल रु एक खर्ब २१ अर्ब ऋण तिरेको छ ।
महालेखा नियन्त्रक कार्यालयले गत आव २०७८÷७९ को विनियोजन, राजस्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोषको आन्तरिक लेखापरीक्षण गरी तयार पारिएको आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदन अघिल्लो हप्ता अर्थ मन्त्रालयलाई बुझाएको थियो ।
उक्त प्रतिवेदनअनुसार गत आवमा नेपालले आन्तरिक ऋणको साँवा रु ४७ अर्ब ३३ करोड ७८ लाख र ब्याज रु ३७ अर्ब ५८ करोड ६८ लाख गरी कुल रु ८४ अर्ब ९२ करोड ४६ लाख भुक्तानी गरेको छ । बाह्य ऋणको साँवा रु २९ अर्ब ४१ करोड ५८ लाख साँवा र ब्याज सात अर्ब ४४ करोड २० लाख गरी कूल रु ३६ अर्ब ८५ करोड ७८ लाख भुक्तानी भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आव २०७८÷७९ सम्ममा नेपाले तिर्न बाँकी कूल ऋण रु २० खर्ब ११ अर्ब ९५ करोड ४१ लाख बराबर रहेको छ । अघिल्लो आव २०७७÷७८ मा यस्तो ऋण रु १७ खर्ब ३७ अर्ब ६३ करोड ६८ लाख बराबर रहेको थियो । अर्थात् गत आवमा मात्र नेपालको सार्वजनिक ऋण रु दुई खर्ब ७४ अर्ब ३१ करोड ७३ लाख थपिएको छ ।
अहिले नेपालले तिर्न बाँकी ऋणमध्ये रु नौ खर्ब ८६ अर्ब १० करोड ७० लाख आन्तरिक ऋण र रु १० खर्ब २५ अर्ब ८४ करोड ६१ लाख बराबर बाह्य ऋण रहेको छ ।