रविले विजय र्‍याली नगर्ने, धन्यवाद सभामा दुई बाकस राखिने, समस्या र उजुरी लेखेर हाल्न आग्रह



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विजय र्‍याली नगर्ने भएका छन् ।

बिहीबार सार्वजनिक भएको मतपरिणाम अनुसार लामिछानेले चितवन २ मा भारी मतान्तरसहित जित निकालेका थिए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएर विजयी भएका लामिछानेले विजय र्‍याली नगर्ने जनाएका छन् ।

आफू निर्वाचित हुनु भनेको जाँच दिन लागि सक्षम भएको भन्दै उनले र्‍याली नगर्ने बताएका हुन् । त्यसको सट्टा धन्यवाद सभा गर्ने उनको भनाइ छ ।

आज र भोलिका लागि आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सभा गर्ने उनले जनाएका छन् । सभास्थलमा दुईवटा बाकस हुने र ति बाकस मध्ये एउटा “समस्या पेटिका” र अर्को बाकसमा “उजुरी, समस्या, सुझाव पेटिका” हुने उनले जनाएका छन् । ति बाकसमा समस्या, उजुरी र सुझाव लेखेर हाल्न उनले अनुरोध गरेका छन् ।

उनले माला खादाको रकम विदेशिने भन्दै आफ्नै बारीमा फूलेको एक थुंगो फूल ल्याउन आग्रह गरेका छन् ।

यस्तो छ लामिछानेको आह्वान

राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन । यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आजबाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछिमात्र आउँछ । म जनतालाई जिताउने जाँच दिन जाँदैछु त्यसैले म अहिले नै बिजय र्‍याली गर्न चाहन्न ।म बिजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर १०- गेस्ट हाउस चौरमा, भोलि ११ बजे इक्छा कामना गाउँपालीका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा “धन्यवाद सभा” गर्दैछु। एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला । म आज बाटै काम थाल्दैछु । मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन् । एउटा बाकसमा “समस्या पेटिका” लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा “उजुरी, समस्या, सुझाव पेटिका” लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सूचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर,खदामा हामीले गरेको खर्च प्राय: सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ।
म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्‍याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउँछु।


क्लिकमान्डु