काभ्रे-२ मा लगातार पछि परे गोकुल, कांग्रेसको अग्रता
काठमाडौं । पूर्वसञ्चारमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटा आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनपश्चात भइरहेको मतगणनामा काभ्रे–२ मा लगातार दोस्रो स्थानमा देखिएका छन् ।
बाँस्कोटालाई नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले शुरुदेखि नै पछि पारेका हुन् ।
चालु रहेको मतगणनामा हुमागाईंले हालसम्म ६ हजार ३१७ मत प्राप्त गरेका छन् । यता बाँस्कोटाले हालसम्मको गणनामा ५ हजार ३२३ मत प्राप्त गरेका छन् । दुई बीच करिब एक हजारको मतान्तर देखिएको छ ।
त्यस्तै, सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका दिनेश हुमागाईंले १ हजार १३३ मत प्राप्त गरेका छन् । यसअघिको निर्वाचनमा बाँस्कोटाले भारी मतान्तरले जितेका थिए ।
हाल देशैभरका विभिन्न स्थानमा मतगणना जारी छ ।