प्रजातन्त्र पुनर्स्थापनापछि २१% ले बढेको थियो महँगी, यो वर्ष पनि दोहोरो अंकले बढ्ने सम्भावना



काठमाडौं । नेपालमा प्रजातन्त्र पुर्नस्थापना पछिको आर्थिक वर्ष २०४८/४९ मा २१.०५ प्रतिशतले महँगी बढेको थियो । जुन नेपाल राष्ट्र बैंकले मूल्यवृद्धिको तथ्यांक राख्न शुरु गरेपछिकै धेरै वृद्धि हो ।

नेपालमा २०२९ सालदेखि मूल्यवृद्धिको तथ्यांक राख्न सुरु गरिएको हो । तथ्यांक राख्न शुरु गरेको दोस्रो वर्ष २०३०/३१ सालमा महँगी १८.४९ प्रतिशतले बढेको थियो ।

२०३१ देखि २०४५ सालसम्म १५ वर्षमा ८ पटक १० प्रतिशतभन्दा बढीले महँगी बढेको थियो ।

०४५ चैत १० बाट २०४७ असार १७ सम्म भारत सरकारले गरेको नाकाबन्दीपछि २०४८ सालमा नेपालमा हालसम्मकै सबैभन्दा उच्च दरमा महँगी बढेको थियो ।

भारत सरकारले खाद्यान्न लगायतका कयौं बस्तुका आपूर्तिमा अवरोध सिर्जना गरेपछि नेपालमा विभिन्न बस्तुको लामो समय अभाव भयो । नेपाल सरकारले आकाशबाट युद्धक विमान खसाउने हतियार ‘एन्टी एयरक्राफ्ट गन’ चीनबाट खरिद गरेको भन्दै भारत नेपालसँग रिसाएको थियो । त्यसपछि राजीव गान्धी नेतृत्वको सरकारले नेपालमाथि नाकाबन्दी लगाएको थियो ।

भारतको नाकाबन्दीबीच २०४६ फागुन ७ गतेदेखि पञ्चायत विरुद्धको आन्दोलन चर्कियो । र, ०४६ चैत २६ मा तीन दशक पुरानो पञ्चायति शासन ढलेको थियो । राजा वीरेन्द्र बहुदल मान्न राजी भए । २०४७ वैशाख ३ मा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बन्यो । तर, नाकाबन्दी भने असारमा मात्रै सहज भयो ।

नाकाबन्दीले आपूर्ति चक्र (सप्लाइ चेन) प्रणाली प्रभावित भएकाले खाद्य र गैर खाद्य बस्तुको मूल्य उच्च दरमा बढ्यो । आर्थिक वर्ष २०४७/४८ मा ९.९७ प्रतिशत रहेको खाद्यपदार्थको मुल्यवृद्धि एक वर्षमै बढेर २०४८/४९ मा २४.५२ प्रतिशत पुगेको थियो ।

आर्थिक वर्ष २०४७/४८ मा ९.३० प्रतिशत रहेको गैर खाद्यपदार्थको मुल्यवृद्धि पनि एक वर्षमै बढेर २०४८/४९ मा १४.७९ प्रतिशत पुगेको थियो ।

२०४८/४९ मा सरकारले भन्सारका दररेटहरु बढाएकाले पनि महँगीको वृद्धि दर अन्य वर्षभन्दा बढी थियो ।

२०४८ सालपछिका वर्षहरुमा दुईपटक मात्रै दोहोरो अंकले महँगी बढेको छ । आर्थिक वर्ष २०५५/५६ मा ११.३८ र २०६५/६६ मा १२.६३ प्रतिशतले महँगी बढेको थियो ।

भारतले नाकाबन्दी गरेको आर्थिक वर्ष २०७२/७३ मा समग्र महँगी ९.९२ प्रतिशतले बढेपनि खाद्यपदार्थको मूल्य भने १०.९१ प्रतिशतले बढेको थियो ।

त्यसयता वार्षिक मुल्य वृद्धिको तथ्यांक हेर्दा खाद्यपदार्थको मूल्य ५.६९ प्रतिशत भन्दा बढीले वृद्धी भएको थिएन । तर, चालु आर्थिक वर्षको पहिलो महिना साउनमा खाद्य पदार्थको मूल्य ७.११ प्रतिशतले बढेको छ ।

खाद्य पदार्थमा पनि सबै भन्दा बढी घ्यू तेलको मूल्य १९.५८ प्रतिशतले बढेको राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकका उल्लेख छ ।

यस्तै, फलफूलको मूल्य १८.७९ प्रतिशत, होटल र रेष्टुरेन्टको मूल्य ११.८४ प्रतिशत, मदिराको मूल्य १०.२४ प्रतिशत, दूधको मूल्य १०.१९ प्रतिशतले बढेको छ ।

यो वर्षको साउनमा गैर खाद्यबस्तु र सेवाको मूल्य ९.१८ प्रतिशतले बढेको छ । जुन, ८ वर्षयताको बढी हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा गैर खाद्यबस्तुमा सबै भन्दा बढी यातायात क्षेत्रमा २३.८८ प्रतिशतले महँगी बढेको छ । स्वास्थ्य क्षेत्रमा १०.५४ प्रतिशतले महँगी बढेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकमा लत्ता कपडाको मूल्य ७.६८ प्रतिशतले बढेको देखाएपनि व्यवसायीहरु यो तथ्यांकसँग सहमत छैनन् । खिचापोखरीमा आरआर फेसन सञ्चालन गर्दै आएका रामानुज नेपाल यो वर्ष पुरुषले लगाउने जिन्स प्यान्टको मूल्य ५० देखि ६० प्रतिशतले बढेको बताउँछन् ।

‘सरकारी तथ्यांकमा कसरी कम महँगी देखियो, त्यो थाहा छैन्,’ नेपालले भने- ‘गत वर्ष २ हजारमा बिक्री गरेका पाइन्टहरु यो वर्ष ३ हजार भन्दा कम मूल्य बेच्न सकिएको छैन ।’

राष्ट्र बैंकको तथ्यांकमा मलसाको मूल्य ०.९९ प्रतिशतले घटेको देखाएपनि बजारमा जिरा, धनीया लगायतका मसलाको मूल्य भने बढेको छ ।

असोजदेखि बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएकाले यो वर्ष थप महँगी बढ्ने निश्चित छ । उद्योगी व्यवसायीको ब्याज खर्च बढ्दा उनीहरुले बस्तु तथा सेवाको मूल्य बढाउने भएकाले यो वर्ष सरकारले निर्धारण गरेको ७ प्रतिशतमा महँगी सिमित गर्न कठिन छ ।

रसिया युक्रेन युद्धपछि बढीरहेको खाद्यपर्दाथको मूल्य तत्काल घट्ने सम्भावना छैन । नेपालमा मलको अभावले कृषि उत्पादनमा घट्ने प्रारम्भिक अनुमान छ । त्यसैले आगामी दिनमा महँगो मूल्य तिरेर खाद्यबस्तुको आयात गर्नु पर्ने बाध्यता आउने सम्भावना छ ।

पछिल्लो केही साता देखि घटीरहेको पेट्रोलियम पदार्थको मूल्य निरन्तर ओरालो लागे महँगीको वृद्धिदरमा ब्रेक लाग्न सक्छ । तर, पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको अवस्थामा चालु आर्थिक वर्षमा मूल्य वृद्धि दोहोरो अंकमा पुग्ने राष्ट्र बैंकका अधिकारीको अनुमान छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि तत्कालै जनताले महँगी घटेको महसुस गर्ने छैनन । किनेभने, उद्योगी व्यवसायीले जसरी मूल्य बढन् सक्ने भन्ने हल्ला सुने लगत्तै बस्तु तथा सेवाको मूल्य बढाउने गर्छन, त्यसै गरी मूल्य घटाउने निर्णय गर्दैनन् ।


क्लिकमान्डु