कपाल काटेरै भरतपुरमा ठाकुरको तीनतले घर, छोरालाई बनाए चार्टर्ड एकाउन्टेन्ट



चितवन । सानै काम भए पनि निरन्तर लागिरह्यो भने सफलता मिल्छ भन्ने एक उदाहरण यहाँका सुरेश ठाकुरले देखाएका छन् ।

परिश्रम गर्नसके स्वदेशमा नै काम गर्न सकिन्छ भन्ने उदाहरण ठाकुरले देखाएका हुन् । कपाल काटेरै उनले भरतपुरमा तीन तलाको घर बनाएका हुन् ।

त्यसो त उनका एक छोरा चार्टर एकाउन्टेन्ट उत्तीर्ण गरी काममा लागेका छन् । अर्का एक छोरा र एक छोरीले पनि उच्च शिक्षा हासिल गरिसकेका छन् । यो सबै ठाकुरको मेहनतको कमाइ हो ।

कलैया जिल्लाको देउताल गाउँपालिका–४ पिप्राडीका स्थायी बासिन्दा ठाकुरले स्थानीय विद्यालयबाट कक्षा १० उत्तीर्णपछि यो पेसामा लागेका हुन् । स्थानीयस्तरमा काम सिकेर छ महिना उनले भारतको दिल्ली पुगेर तालिम लिएका थिए ।

विसं २०५० मा भरतपुरको तत्कालीन जिल्ला विकास समितिको जग्गामा रहेको सटरमा उनले कपाल काट्न सुरु गरेका थिए । त्यतिबेला उनको उमेर १८ वर्षको थियो ।

ठाकुरले भने, ‘म मेरो फूपाजु रामकुमार ठाकुरसँग कपाल काट्ने कामका लागि चितवन आएँ ।’ २६ वर्ष त्यहीँ ठाउँमा कपाल काटेपछि उनी अहिले केही पर सरेका छन् ।

यहाँ आएर सुरुमा नै आफैँले व्यापार थालेको उनी सम्झनुहुन्छ । त्यतिबेला दाह्री र कपाल काटेको १० रुपैयाँ लिने गरिन्थ्यो । अहिले यो मूल्य बढेर एक सय ७० रुपैयाँ पुगेको छ । त्यतिबेला दैनिक ५० जना सम्मको दाह्री कपाल काटेको उनी बताउँछन् ।

अहिले यो सङ्ख्या ३०/३५ छ । आम्दानी हुँदै गएपछि बसाइँ चितवन बनाउने रहर उनमा जाग्यो । यहाँ कमाएको पैसाले उनले वीरगञ्जमा जग्गासमेत किनेका छन् ।

सन्तान हुर्कंदै गएपछि त्यहाँको घडेरी बेचेर भरतपुर महानगरपालिका–१२ मा उनले घडेरी किने ।

सोही घडेरीमा उनको तीन तलाको घर ठडिएको छ । ४५ वर्षीय ठाकुरका जेठा छोराले स्नातक गरेर जागिर खान थालेका छन् । कान्छो छोराले भारतको चण्डीगढबाट चार्टर्ड एकाउन्टेन उत्तीर्ण गरेर यही लेखापरीक्षण सुरु गरेका छन् ।

उनकी छोरी कक्षा १२ पढ्दै छिन् । अहिले पनि निरन्तर कपाल काट्दै आएका ठाकुर मेहनत गर्‍यो भने नेपालमै कमाइ हुने बताउँछन् ।

जीवनको झण्डै तीन दशक यो पेसामा सङ्घर्षरत ठाकुरले भने,’मेहनत गरेर काम गर्नुस् विदेशिनु पर्दैन ।’ कर्मथलो चितवन बनाएका ठाकुरको मेहनतको कमाइले स्थायी बसोबास भरतपुर बनेको हो ।

अहिले पनि उनको आफ्नै कमाइले परिवार धानेको छ । छोरीबाहेकको पढाइ खर्च घटेपछि र छोराको आम्दानी सुरु भएकाले अबका दिन यस्तै परिश्रम गरिरहनु नपर्ने उनी बताउँछन् ।-रासस


क्लिकमान्डु