दशैं नजिकिएसँगै दैनिक ५० वटा पसलमा अनुगमन, ३ दिनमा साढे ६ लाख जरिवाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज १ गतेदेखि दशैंलक्षित बजार अनुगमन शुरु गरेको छ ।

दैनिक १३ देखि १५ वटा अनुगमन गर्दै आएको विभागले दशैं नजिकिएसँगै अनुगमनलाई बढाएको छ । बढी कारोबार हुने र ऐन विपरित व्यापार बढ्ने भएकाले अनुगमनलाई तीब्र पारिएको विभागले जनाएको छ ।

विभागले गत असोज लगत्तै दैनिक ५० वटा पसल तथा व्यवसायको हाराहारीमा अनुगमन गर्न थालेको छ । विभागअनुसार असोज २ गतेदेखि दैनिक ७ देखि ९ वटा टोलीले ५० भन्दा बढी पसलहरुमा अनुगमन हुन थालेको जनाएको छ ।

विभागले असोज २ गते उपत्यकाका ५१ वटा पसलमा अनुगमन गरेको छ । त्यसैगरी, असोज ३ गते ४३ वटा र ४ गते ५० वटा पसल तथा फर्ममा अनुगमन गरेको जनाएको छ । ३ दिनमा १४१ वटा फर्ममा अनुगमन गरेको विभागको तथ्याङ्क छ ।

असोज २ गते ५१ वटा फर्म तथा पसल अनुगमन गर्दा ११ वटा वटालाई जरिवाना गरेको विभागले जनाएको छ । त्यस्तै, असोज ३ गते ४३ वटामा अनुगमन गर्दा ११ र ४ गते ५० वटामा अनुगमन गर्दा १२ वटालाई ऐन विपरित कारोबार गरेको भन्दै ५ हजारदेखि २ लाखसम्म जरिवाना गरेको छ ।

३ दिनमा विभागले ३४ वटा फर्म तथा पसलले ऐन विपरित कारोबार गरेवापत ६ लाख ७० हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागले असोज २ गते १ लाख ४० हजार रुपैयाँ, ३ गते १ लाख ४५ हजार रुपैयाँ र ४ गते ३ लाख ८५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागले इमाडोलमा रहेको खाद्य वस्तु पसललाई रिलेवलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य नापतौलमा हेरफेर गरेको पसललाई २ लाख जरिवाना गरेको छ । त्यसैगरी विभागले दर्ता प्रमाण–पत्र राख्नु पर्ने, मूल्य सूची/दर्ता प्रमाण–पत्र नराखेको औषधी तथा जडिबुटी पसललाई १ लाख रुपैयाँ जरिवाना गरेको छ ।

त्यसैगरी, विभागले खरिद बिल बिजक राख्नुपर्ने। खरिद बिल बिजक नराखेको र सहयोग नगरेको भन्दै ५ हजारदेखि २० हजारसम्म जरिवाना गरेको छ ।


क्लिकमान्डु