फनपार्कका प्रतिनिधि पत्र बुझ्न काठमाडौं महानगरपालिका जाँदै, नआए कानूनी उपचार गर्ने महानगरको चेतावनी



काठमाडौं । काठमाडौं फनपार्कका प्रतिनिधि काठमाडौं महानगरपालिकाको कार्यालय जाने भएका छन् ।

महानगरपालिकाले कर तिर्नका लागि भन्दै २४ घण्टे पत्र काटेसँगै फनपार्कका प्रतिनिधि उक्त पत्र बुझ्न ११ बजे कार्यालय आउने सूचना पाएको महानगरका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले क्लिकमाण्डूलाई जानकारी दिए ।

‘उहाँहरु आज ११ बजे पत्र बुझ्न आउने भन्ने जानकारीमा आएको छ,’ उनले भने, ‘नआएको खण्डमा महानगरले फनपार्कमा २४ घण्टे सूचना टाँस गर्छ । त्यस समयमा सम्पर्कमा नआए कानूनी उपचार खोज्छौं ।’

महानगरपालिकाको तर्फबाट बुधबार राजस्व विभाग प्रमुख अधिकारीले २४ घण्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिवाना तिर्न काठमाडौं फनपार्कलाई पत्र काटेका थिए ।

काठमाडौं फनपार्कले वर्षौदेखि व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाइ व्यवसाय सञ्चालन गरेको महानगरले पठाएको पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘पटकपटक ताकेता गर्दा पनि कर नबुझाइएकाले २४ घण्टाभित्र व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन र मनोरञ्जन कर महानगरपालिकाको राजस्व विभागमा बुझाउन अनुरोध छ ।’

तोकिएको समयभित्र सम्पूर्ण कर नबुझाएमा फनपार्क सिलबन्दी गरि तिर्नुपर्ने राजस्व सरकारी बाँकी सरह असुलउपर गरिने महानगरले चेतावनी दिएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ जारी भएपछि फनपार्कमा कर लगाउने अधिकार महानगरपालिकामा आएको थियो । तर, २०७५ सालदेखि महानगरपालिकालाई कर बुझाउनु पर्नेमा काठमाडौं फन पार्कले कुनै पनि विवरण नदिँइ अटेरी गर्दै आएको अधिकारीले बताए ।


क्लिकमान्डु