चुनावमा होमिँदै अर्थशास्त्री



काठमाडौं । सरकारले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि २०७९ मङ्सिर ४ गतेको मिति तय गरेपछि यतिबेला चुनावी माहोल शुरु भइसकेको छ ।

सम्भावित उम्मेदवारहरु आफ्नो निर्वाचन क्षेत्र पुग्ने, मतदाता रिझाउने र दलबाट उम्मेदवार सिफारिस गराउने प्रयत्नमा जुटिसकेका छन् । कतिपय दलहरुले चुनावमा नयाँ अनुहारलाई प्राथमिकता दिने रणनीति बनाएसँगै यसपटक नयाँ उम्मेदवार देख्न पाउने आशा सर्वसाधारणमा पलाएको छ ।

चुनावको यो पृष्ठभूमिमा आफ्नो ज्ञान र क्षमताले समाजमा स्थापित केही व्यक्तिहरुले समेत संघीय चुनावमा आकाङ्क्षा प्रकट गरिरहेका छन् । त्यस्तोमा अर्थशास्त्रीहरु अग्रपंक्तिमा छन् ।

हालैमात्र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले र आयोगका वर्तमान उपाध्यक्ष डा. विश्वनाथ पौडेललेसमेत आगामी चुनावका लागि उम्मेदवारीका लागि निवेदन बुझाइसकेको खबर सार्वजनिक भइसकेको छ ।

दुवै अर्थशास्त्रीहरुले चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न चितवन कांग्रेससमक्ष निवेदन दिइसकेका छन् । यस्तै प्रतिनिधि सभाअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ बाटसमेत अर्थशास्त्री डा. गजेन्द्र विष्टको चर्चा शुरु भएको छ । उनी पनि नेपाली कांग्रेसबाटै उक्त निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न निवेदन दिने तयारीमा छन् ।

निर्वाचनमा पहिलोपटक होमिन लागेका तीनै अर्थशास्त्री आ-आफ्नो क्षेत्रमा अब्बल मानिन्छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको एसिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार रहेका अर्थशास्त्री डा. वाग्लेले चुनावमा प्रतिस्पर्धाका लागि हालैमात्र उक्त पदबाट राजीनामा दिएर नेपाल आएका छन् ।

दुई दशकभन्दा लामो समय विभिन्न अन्तर्राष्ट्रिय संस्थामा अर्थशास्त्रीको रुपमा अनुभव हासिल गरिसकेका वाग्लेले अष्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि हासिल गरेका छन् ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट कृषि तथा स्रोत अर्थशास्त्रमा विद्यावारिधि गरेका वर्तमान उपाध्यक्ष डा. पौडेल विगत केही वर्षयता काठमाडौं विश्वविद्यालय लगायत विभिन्न कलेजमा अध्यापन गर्दै आएका थिए । विकास अर्थशास्त्रको ऐतिहासिक पक्षको विश्लेषण क्षमतामा पौडेल अब्बल मानिन्छन् ।

काठमाडौं ५ बाट चुनावमा प्रतिस्पर्धाको तयारी गरिरहेका डा.विष्ट भने फरक पृष्ठभूमिका हुन् । नेपालमा आर्थिक पत्रकारिताको शुरुवाती समयमा अब्बल पत्रकार कहलिएका विष्ट डा. रामशरण महत अर्थमन्त्री रहँदा उनको सल्लाहकार थिए ।

वित्तीय क्षेत्रका जानकार विष्ट प्राइम कमर्सियल बैंकका सञ्चालकसमेत हुन् । उनले भारतबाट अर्थशास्त्रमा विद्यावारिधि हासिल गरेका हुन् ।


क्लिकमान्डु