सहकारीमा विकृति भित्र्याउँदै केन्द्रीय संघ, ६ वटालाई खारेजीको तयारीमा विभाग



काठमाडौं । प्रारम्भिक सहकारी संस्थालाई ऐन, नियम, कानून सिकाउने केन्द्रीय सहकारी संघहरु नै कानून कार्यान्वन नगर्नेको अग्रपंगितमा रहेका छन् ।

कानून कार्यान्वयन नगर्ने ६ वटा केन्द्रीय संघलाई सहकारी विभाग खारेजीसम्मको कारबाही गर्ने तयारीमा जुटेको छ । विभागले १५ दिनको सूचना प्रकाशित गरेर नेपाल विद्युत केन्द्रीय सहकारी संघ, नेपाल केन्द्रीय स्वास्थ्य सहकारी संघ, नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ, नेपाल केन्द्रीय सुपारी सहकारी संघ, नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ, केन्द्रीय उखु उत्पादक सहकारी संघलाई कारबाहीको तयारी गरेको छ ।

उक्त संघहरुले सहकारी ऐन २०७४ को दफा ८ बमोजिम न्यूनतम जिल्ला र सदस्य संख्या कायम रहेको विवरण विभागमा पेश गरेका छैनन् । विभागका अनुसार सदस्य कायम नभएको भए सहकारी नियमावली २०७५ को नियम ३९(७) बमोजिम नियमावली जारी भएको मिति २०७६ वैशाख २३ बाट २ वर्ष भित्र सम्बन्धित संघमा एकीकरण गरिसक्नुपर्ने व्यवस्था छ । यी ६ वटा संघले उक्त व्यवस्था पनि मानेका छैनन् ।

विभागका अनुसार सहकारी ऐन २०७४ को दफा ७३ बमोजिम विभागमा पेश गर्नुपर्ने विवरण समेत नियमित पेश गरेका छैनन् ।
सहकारी ऐन २०७४ को दफा ८८ (३) बमोजिमको अवस्था विद्यमान रहेकोमा सहकारी संघ संस्थालाई खारेज गर्न सकिने कानूनी व्यवस्था भएकाले सोही ऐनको दफा ८८ (४) बमोजिम १५ दिन भित्र खारेज गर्न नपर्ने कारण पेश गर्न विभागले ६ वटा सहकारीलाई भनेको छ ।


क्लिकमान्डु