पार्किङस्थल बन्दै हाटबजार



तम्घास । एक कुनामा उपल्लो तम्घास माध्यमिक विद्यालयको बस । अर्को कुनामा रेसुङ्गा नगरपालिकाको सवारी, अर्को कुनामा नगरपालिकाकै फोहर फाल्ने गाडी र अर्को कुनामा नगरपालिकाकै ट्र्याक्टर र डोरज ।

ग्राउण्डलाई चारैतर्फबाट सवारीले घेरेका छन् । यतिमात्र होइन, बीचमा व्याडमिन्टन खेल्ने ठाउँ र केही मोटरसाइकलसमेत छन् । गुल्मीको रेसुङ्गा नगरपालिकाका थप दुईवटा गाडी र सडक कार्यालयको एउटा गाडीसमेत त्यही ग्राउण्डमा पार्किङ हुने गर्दछ ।

यसरी मैदानमा दैनिकजसो एउटा स्कुलबस, विभिन्न कार्यालयका पाँच गाडी, तीन ट्र्याक्टर, एउटा फोहर फाल्ने गाडी, नगरपालिकाकै खानेपानीको ट्र्याक्टर र १० वटा जति मोटरसाइकल हुन्छन् । उक्त स्थान झट्ट हेर्दा सवारी पार्किङस्थल र खेलमैदानजस्तो देखिन्छ । तर, त्यो कुनै पार्किङस्थल नभई रेसुङ्गा नगरपालिकाको हाटबजार हो । नगरपालिकाले विगत दुई वर्षदेखि सञ्चालनमा ल्याएको हाटबजार केही महिनादेखि बन्द हुँदा पार्किङस्थलमा परिणत भएको छ ।

झण्डै सात वर्षअघिबाट बनाउन सुरु गरिएको हाटबजार आर्थिक वर्ष २०७६÷७७ मा निर्माण सम्पन्न भयो । निर्माण भइसकेपछि पनि केही महिना सञ्चालनमा आएन । चौतर्फी दबाबपछि नगरपालिकाले नै हाटबजार सञ्चालन ग¥यो । हाटबजार सञ्चालनमा आउँदा कृषक र ग्राहकलाई राहत मिलेको थियो । तर अहिले बन्द हुँदा भने दुवैलाई निरास बनाएको छ ।

‘हाटबजार सञ्चालन हुँदा उत्पादित तरकारी लिन गाडी घरमै आउँथ्यो, मूल्य पनि राम्रै पाएका थियौँ”, रेसुङ्गा नगरपालिका–४ अर्खलेका कमलप्रसाद आचार्यले भने, ‘अहिले तरकारी बेच्नका लागि डोकामा बोकेर बजार डुल्नुपरेको छ ।’

बिचौलियाका रूपमा प्रस्तुत हुने व्यापारीले सस्तोमा सामग्री राख्ने हुँदा आफूहरूले उचित मूल्यसमेत नपाएको उनले गुनासो गरे ।

सोही ठाउँकै अर्का कृषक ज्ञानबहादुर दर्लामीले मौसमअनुसारका तरकारी उत्पादन गर्छन् । अहिले उहाँको बारीमा बन्दा, टमाटर, प्याज, भेन्डी, तितो करेला, काँक्रो, लौका, सिम्ला मर्च, खुसार्नीलगायतका फलफूल र तकारी छन् । तर उत्पादित तरकारी बेच्नका लागि उहाँ डोको बोकेर बजार धाउने गर्नुहुन्छ । हाटबजार बन्द हुँदा आफूहरूले निकै सास्ती खेप्नुपरेको दर्लामीको भनाइ छ ।्

“क्विन्टल तरकारी उत्पादन गरेर पनि बिक्रीका लागि १०-२० किलो डोकामा बोकेर हिँड्नुपरेको छ”, उनले भने, “सकेसम्म छिटो हाटबजार सञ्चालन गरेमा सहज हुने थियो ।”

आचार्य र दर्लामी त समस्यामा परेका किसानका प्रतिनिधिमूलक पात्रमात्रै हुन् ।

सदरमुकाम नजिकका मात्र नभई तम्घास बजारलाई बजारीकरणको अपेक्षामा राखेर तरकारी तथा फलफूल उत्पादान गरेका अन्य ठाउँका कृषक पनि निरास बन्न थालेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका, गुल्मीदरबार, इस्मा र धुर्कोट गाउँपालिकाका साथसाथै अर्घाखाँचीको मालारानी र छत्रदेव गाउँपालिकाका कृषकसमेत हाटबजार बन्द हुँदा प्रभावित बनेका छन् । हाटबजार बन्द हुँदा व्यापारीले सस्तोमा खरिद गरेर उपभोक्तालाई महँगोमा बिक्री गर्दा कृषक र उपभोक्ता दुवै मर्कामा परेका छन् ।

हाटबजार निर्माणका लागि अहिलेसम्म पाँचवटा सरकारी कार्यालयले कूल रु एक करोड ३३ लाख ५० हजार लगानी गरेका छन् । साविकको जिल्ला कृषि विकास कार्यालयको रु १४ लाख, साविकको जिल्ला विकास समितिको रु आठ लाख, साविकको पशु सेवा कार्यालयको रु १० लाख र अन्य रकम लुम्बिनी प्रदेश सरकार र रेसुङ्गा नगरपालिकाको छ ।

हाटबजारको जग्गा भने साविक जिल्ला विकास समिति अर्थात् हालको जिल्ला समन्वय समितिको नाममा छ । शीतभण्डारसहित सञ्चालन गरिएको हाटबजार यसअघि पनि पटक-पटक बन्द हुँदै सञ्चालनमा आएको थियो । यसअघि कारोनाका कारण देखाएर बन्द गरिएको हाटबजार रेसुङ्गाले अहिलेसम्म पनि सञ्चालन गर्न सकेको छैन ।

रेसुङ्गा नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष राम्जी पन्थीले केही समयभित्रै हाटबजार सञ्चालनमा आउने दाबी गर्नुभयो । नगरपालिकाले सञ्चालन गर्दा घाटा हुने भएकाले निजी क्षेत्रसँग समन्वय गरी लिजमा दिने तयारी भइरहेको उनले बताए ।

“हाटबजार सञ्चालनमा हामी गम्भीर छौँ, अहिले नगरप्रमुखका बुवाको निधन भएका कारण प्रक्रिया अगाडि बढाउन रोकिएको छ”, उनले भने, “बढीमा एक महिनामा सञ्चालन गर्छौँ ।”


क्लिकमान्डु