रेमिट्यान्सले बढायो घरजग्गा कारोबार, राजस्व संकलनमा नयाँ रेकर्ड, उपत्यकामा मात्रै १ लाख किनबेच



काठमाडौं । गत आर्थिक वर्षमा साढे ७ लाख घरजग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका गत आवमा ७ लाख ४५ हजार ११९ घरजग्गा किनबेच भएका छन् ।

कोरोना महामारीको समय अधिकांश आर्थिक गतिविधि ठप्प भएका बेलामा समेत उच्च कारोबार भएको घरजग्गाको कारोबार पछिल्लो समय रेमिट्यान्स बढेसँगै उछाल आएको हो ।

विभागका अनुसार आव २०७५/७६ मा ७ लाख ४९ हजार ४५१ घरजग्गाको खरिदबिक्री भएको थियो । जबकी आव २०७६/७७ मा ५ लाख ६९ हजार ७३७ घरजग्गा किनबेच भएको थियो ।

उक्त वर्षको अन्तिमतिर लकडाउनका कारण कारोबार हुन नसक्दा संख्या बढ्न सकेको थिएन । तर २०७७/७८ मा ८ लाख ४४२ घरजग्गा किनबेच भएको थियो ।

कोरोना महामारीको समयमा समेत घरजग्गामा लगानी बढेको र यसको प्रभाव आव २०७८/७९ मा समेत देखिएको हो ।

बजारमा कात्तिकदेखि नै तरलता अभाव देखिन थालेको थियो । तर, तरलता अभाव निकै लामो लम्बिएपनि कारोबारमा भने कुनै असर नदेखिएको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

विभागकाअनुसार आव २०७८/७९ मा तलरताको चरम अभावमा समेत देशभरका मालपोत कार्यालयबाट ७ लाख ४५ हजार ११९ घरजग्गा किनबेच भएको छ ।

आव २०७७/७८ को तुलनामा गत आव ५५ हजार कम घरजग्गा किनबेच भएको छ । तर, विभिन्न सरोकावालाहरूले गरकोे प्रक्षेपण अनुसार घट्न नसकेको विभागको भनाइ छ ।

विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीले कोरोना महामारीका समयमा घरजग्गामा लगानी बढेको बताउँछन् ।

‘अहिले विदेशिएर रेमिट्यान्स पठाएको रकम जग्गामा लगानी भएको देखिन्छ,’ भण्डारीले क्लिकमाण्डूसँग भने ।

बैंकिङ प्रणालीमा लामो समयदेखि तरलताको समस्या छ ।

अधिकांश बैंकहरुको सीडी रेसियोको राष्ट्र बैंकले निर्धारण गरेको सीमा आसपासमा छ । ऋणीलाई कर्जा दिन नसकी निक्षेप मात्रै संकलन गरहेको अवस्थामा पनि जग्गामा भने लगानी राम्रो भएको देखिन्छ ।

कोरोना महामारीको समयमा बढ्दो सेयर बजारबाट राम्रो आम्दानी गरेका लगानीकर्ताले समेत घरजग्गामा लगानी गरेको देखिएको छ । साथै, रेमिट्यान्स बढेसँगै घरजग्गाको कारोबारमा उछाल आएको विभागका प्रवक्ताको भनाइ छ ।

रियल स्टेट कारोबार नेपालका अध्यक्ष प्रकाश छतकली बजारमा तरलता अभाव हुँदा घरजग्गा किनबेचमा असर नपरेको बताउँछन् ।
उनका अनुसार अघिल्लो आवमा ऋण लिएर जग्गा किन्नेको संख्या निकै कम थियो । जसमा २५ प्रतिशतले मात्रै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका थिए ।

‘गत आवमा घरजग्गामा आएको लगानीको मुख्य स्रोत रेमिट्यान्स पनि हो,’ उनले भने, ‘वैदेशिक रोजगारीमा जानेको पहिलो प्राथमिकता घरजग्गा भएकाले पनि लगानी बढेको हुनसक्छ ।’

त्यसैगरी जानकारहरु बुढीगण्डकी आयोजनाबाट प्रभावित परिवारले प्राप्त गरेको मुआब्जा समेत जग्गामा लगानी भएकाले कारोबार बढेको बताउँछन् । आयोजना प्रभावितहरुले ठूलो संख्यामा चितवन र राजधानीका जग्गामा रकम खन्याएकाले पनि कारोबार संख्या बढेको उनीहरुको भनाइ छ ।

इनरुवामा सबैभन्दा बढी किनबेच
आव २०७८/७९ मा देशभरको मालपोत कार्यालयमध्ये इनरुवा कार्यालयमा सबैभन्दा बढी कारोबार भएको छ । विगतमा पनि यो कार्यालयबाट उच्च संख्यामा घरजग्गा कारोबार हुँदै आएको छ ।

इनरुवा कार्यालयबाट गत वर्ष मात्रै ३५ हजार ४२८ घरजग्गा किनबेच भएको छ ।

इनरुवापछि बेलबारी मोरङबाट ३० हजार ४८९ वटा, भद्रपुर झापामा २६ हजार ७५० वटा, जनकपुरधाम धनुषामा २६ हजार ५३८ वटा र नेपालगञ्जबाट २४ हजार २५२ वटा घरजग्गा किनबेच भएको छ ।

त्यसैगरी, लगनखेल मालपोत कार्यालयबाट २३ हजार ७८ वटा, भक्तपुरबाट २२ हजार ८९८ वटा, कलंकीबाट १८ हजार ७६१ वटा, चितवनबाट १७ हजार ५१ वटा, विराटनगर मोरङबाट १५ हजार ८४८ वटा, मकवानपुरबाट १५ हजार ८१५ वटा, कलैया बाराबाट १५ हजार ७४१, राजविराजबाट १५ हजार ७२७ वटा, पर्साबाट १५ हजार ३१० वटा र काभ्रेपलाञ्चोकबाट १५ हजार २२ वटा घरजग्गा किनबेच भएको छ ।

उपत्यकामा १ लाख घरजग्गा किनबेच
देशभर साढे ७ लाख घरजग्गा किनबेच हुँदा उपत्यकामा मात्रै १ लाख किनबेच भएको छ ।

देशभरका नेपालीहरूको आकर्षणको क्षेत्र बनेको उपत्यकामा गत वर्ष ९८ हजार ७०८ घरजग्गा किनबेच भएको विभागको तथ्याङ्कले उल्लेख गर्दछ । उपत्यकामा एक आर्थिक वर्षका उक्त संख्यामा घरजग्गा किनबेच भएको हालसम्मकै उच्च हो ।

वार्षिक ८० हजारको हाराहारीमा किनबेच हुँदै आएको उपत्यकामा सबै नेपालीको बढ्दो आकर्षण रहेको विभागको भनाइ छ । विभागकाअनुसार पछिल्लो समय उपत्यकामा बढ्दो घरजग्गा कारोबार र कित्ताकाट हुने गरेको छ ।

उपत्यकाको काठामाडौं, ललितपुर र भक्तपुरमा ९ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी लगनखेलबाट किनबेच भएको छ । ललितपुरबाट मात्रै गत वर्ष २३ हजार ७८ घरजग्गाको किनबेच भएको छ ।

त्यसैगरी, भक्तपुरबाट २२ हजार ८९८ वटा, कलंकीबाट १८ हजार ७६१ वटा, साँखुबाट १२ हजार १३४ वटा, डिल्लीबजारबाट ४२ सय ५ वटा, मनमैजुबाट ४१ सय, टोखाबाट ३६ वटा १६ वटा र गोटीखेलबाट ३६५ वटा घरजग्गा किनबेच भएको छ ।

राजस्व संकलनमा नयाँ रेकर्ड
गत वर्ष विगतको वर्षको केही मात्राले कारोबार कम भए पनि राजस्व संकलनमा भने इतिहास कायम गरेको छ ।

आव २०७७/७८ मा विगतको दिनको तुलनाबाट सबैभन्दा बढी राजस्व संकलन गरेको थियो । तर, गत वर्ष आव २०७७/७८ को राजस्व संकलनलाई ब्रेक गर्दै छुटसहित १९ अर्ब बढी राजस्व संकलन गरेको छ ।

आव २०७८/७९ मा देशभरको मालपोत कार्यालयबाट छुटसहित ५७ अर्ब ६६ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

त्यस्तै, गत वर्ष भने ७६ अर्ब ६२ करोड १५ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन हालसम्मकै उच्च हो ।

सरकारले सो अवधिमा सेवा करवापत ३ अर्ब ९० करोड ७३ लाख ८८ हजार रुपैयाँ, बागमतीवापत २ अर्ब ३९ करोड ५५ लाख १७ हजार, रजिष्ट्रेसनवापत ४५ अर्ब ३८ करोड ७३ लाख ८६ हजार, अतिरिक्त शुल्कवापत ६९ लाख ८६ हजार, पुँजीगत लाभकरवापत १७ अर्ब ८८ करोड ९८ लाख ८८ हजार रुपैयाँ, मुख्यमन्त्री स्वछता अभियान कोष शुल्कवापत ४९ करोड ३३ लाख ६३ हजार र नारायणी तथा राप्ती सभ्यतावापत ५ करोड ७४ लाख ७२ लाख रुपैयाँसहित अन्य विभिनन अन्य विधाबाट राजस्व संकलन गरेको छ ।

संकलित राजस्वमध्ये उपत्यकाबाट सबैभन्दा बढी संकलन भएको तथ्याङ्कले उल्लेख गर्दछ । उपत्यकामा बढ्दो मूल्यमा घरजग्गा कारोबार उच्च हुँदा राजस्व संकलनमा पनि उछाल आएको छ ।

जसमा देशभरको मालपोत कार्यालयमध्ये लगनखेल, भक्तपुर, डिल्लीबजार, कलंकी, चावहिल र उपत्यकाबाहिर चितवन, कास्की, पर्सा, विराटनगरबाट उच्च राजस्व संकलन भएको छ ।

उपत्यकाको हिस्सा करिब ५० प्रतिशत
देशभरको मालपोत कार्यालयबा ७६ अर्ब राजस्व संकलन हुँदा उपत्यकाको हिस्सा मात्रै करिब ५० प्रतिशत छ ।

उपत्यकाका तीन जिल्लामा रहेको ९ वटा मालपोत कार्यालयबाट १ लाखको हाराहारीमा घरजग्गा किनबेच हुँदा ३३ अर्ब १० करोड ७९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन संकलन भएको राजस्वको ४३.२० प्रतिशत हिस्सा हो ।

देशभरको मालपोत कार्यालयमध्ये सबैभन्दा बढी राजस्व संकलन गरेको लगनखेलले मात्रै गत वर्ष ७ अर्ब ४५ करोड २४ लाख ८७ हजार, भक्तपुरबाट ५ अर्ब ९२ करोड ६६ लाख ९७ हजार, डिल्लीबजारबाट ५ अर्ब ३६ करोड ५७ लाख ५९ हजार, कलंकीबाट ५ अर्ब २९ करोड २६ लाख १७ हजार, चावहिलबाट ४ अर्ब ३० करोड ३० लाख, साँखुबाट १ अर्ब ७८ करोड ४४ लाख ४२ हजार, मनमैजुबाट १ अर्ब ७० करोड ६८ लाख ३३ हजार, टोखाबाट १ अर्ब २५ करोड ७४ लाख १४ हजार र गोटीखेलबाट १ करोड ८६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

राजस्व संकलनमा उपत्यकाबाहिर चितवन अगाडि
उपत्यकाबाहिर किनबेचको हिसाबले कम कारोबार गरेपनि चितवनले सबैभन्दा बढी राजस्व संकलन गरेको छ ।

चितवनबाट गत वर्ष १७ हजार घरजग्गा किनबेच भएको छ । जसमा सो मालपोत कार्यालयबाट २ अर्ब राजस्व संकलन भएको छ ।

त्यस्तै, काभ्रेपलाञ्चोकबाट १ अर्ब ७४ करोड ९६ लाख, कास्कीबाट १ अर्ब ६७ करोड ४० लाख, पर्साबाट १ अर्ब ४४ करोड २९ लाख, मोरङबाट १ अर्ब ३१ करोड ८५ लाख, इनरुवा सुनसरीबाट १ अर्ब २९ करोड ८ लाख, रुपन्देहीबाट १ अर्ब १७ करोड ६९ लाख, मकवानपुरबाट १ अर्ब १७ करोड ७ लाख, नेपालगञ्ज बाँकेबाट १ अर्ब १२ करोड २५ लाख र धनगढीको कैलालीबाट १ अर्ब ५ करोड ५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

साढे ६ अर्ब छुट
गत आवमा देशभरको मालपोत कार्यालयबाट साढे ६ अर्ब रुपैयाँ रजिष्ट्रेसन दस्तुरमा छुट दिएको छ ।

विभागको अनुसार सरकारले गत वर्ष ६ अर्ब ४६ करोड ५० लाख रुपैयाँ छुट दिएको छ ।

सरकारले प्रदेशअनुसार महिला, दलित, एकल महिला र बालकको हकमा २५ प्रतिशतदेखि ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

जसमा कुनै पनि व्यक्तिले आफ्नो जग्गा महिलाको स्वामित्व गर्न चाहेमा छुटको व्यवस्था छ । उक्त व्यवस्थाले महिलाको हिस्सा बढ्दै गएको र छुट पनि उच्च रहेको विभागको भनाइ छ ।


अरिष्मा मोक्तान