हिमालयन र सिभिल बैंकबीच मर्जरको कुरा मिल्यो, शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर हुने



काठमाडौं । लामो समयको छलफलपछि अन्तत हिमालयन र सिभिल बैंकबीच मर्जरको कुरा मिलेको छ । आउँदो शुक्रबार मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रमा राखिएको छ ।

‘८१ मा कुरो मिलेको छ, शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गर्छौं,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार स्वाप रेसियो १००ः८१ तय गरिएको छ । यसको मतलब सिभिल बैंकमा १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा गाभिँदा ८१ कित्ता हुनेछ ।

यी दुई बैंकबीच ३ महिनादेखि स्वाप रेसियोमा बार्गेङि भइरहेको थियो । हिमालयनले ७० भन्दा बढी दिन नसक्ने अडान कस्दै आएको थियो भने सिभिलले ९० माग्दै आएको थियो । असार मसान्त नजिकिनै लाग्दा दुबै बैंकले आाफ्नो अडान छाडेर मध्यविन्दुमा सहमति जुटाएका हुन् ।

हाल हिमालयनको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ र सिभिलको ९ अर्ब ७ करोड रुपैयाँ रहेको छ । मर्जपपछि बैंकको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ।

मर्जरपछि बन्ने संस्थाको नाम हिमालयन बैंक नै हुने छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयनका अशोक राणाले नै निरन्तरता पाउने छन् ।

नयाँ बैंकमा वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत सिभिलका सुनील पोखरेल हुनेछन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि हिमालयन बैंकलाई राष्ट्र बैंकले मर्जरमा नगए कारबाही गर्ने चेतावनी दिएको थियो । हिमालयन बैंक मर्जरको दवावमा परेकाले सिभिल बैंकले राम्रो मूल्य पाएको छ । त्यसो त पछिल्लो समय सिभिलले आक्रामकरुपमा व्यवसाय विस्तार गरेर आफूलाई अब्बल बनाउँदै लगेको थियो । दुई वर्षअघि ४० को स्वाप रेसियोमा समेत हिमालयनसँग गाभिन तयार देखिएको सिभिलले अहिले दोब्बर मूल्य पाएको हो ।

सिभिल बैंकको सञ्चालक समिति र व्यवस्थापनमा नेतृत्व परिवर्तन भएपछि बैंकमा राम्रो सुधार हुँदै आएको छ ।


क्लिकमान्डु