सर्वोच्चको फैसला एकातिर, प्रधानमन्त्रीको निर्देशन अर्कोतिर



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा दुई धावनमार्ग ‘रनवे’सहितको विमानस्थल निर्माण गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरूको टोलीले निजगढ विमानस्थलको स्थलगत निरीक्षणपछि यस्तो निर्देशन दिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । प्रधानमन्त्री देउवाका साथै गठबन्धन दलका शीर्ष नेताहरुले विमानस्थल बनाउनुपर्नेमा जोड दिएको अधिकारीले बताए ।

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला आएको केही दिनमै प्रधानमन्त्रीसहितका गठबन्धन दलका शीर्ष नेताहरु अवलोकनका लागि निजगढ पुगेका हुन् । प्रधानमन्त्री नेतृत्वको टोली निजगढ विमानस्थल निर्माण क्षेत्रको स्थलगत अवलोकनपछि काठमाडौँ फर्किएको छ । उनीहरुले विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिएको प्राधिकरणका महानिर्देशक अधिकारीले बताए ।

सर्वोच्च अदालतले विमानस्थलको काम अघि नबढाउन आदेश दिएको छ । अहिलेसम्मका सबै प्रक्रिया खारेज गरेको सर्वोच्चले विज्ञको टोली बनाएर अरु विकल्पमाथि अध्ययन गर्न फैसलामा भनेको छ । टोलीले जीतपुर–सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हबी नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु