जेठ महिनामा जीवन बीमा कम्पनीले संकलन गरे ९ अर्ब, कुन प्रदेशबाट कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आवको जेठ महिनामा ९ अर्ब ७ करोड ६० लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले जेठ महिनामा प्रथम बीमाशुल्कबाट २ अर्ब ५९ करोड ३७ लाख रूपैयाँ र नवीकरण शुल्कबाट ६ अर्ब ४८ करोड २३ लख रूपैयाँ गरी सो रकम संकलन गरेका हुन् ।

जेठ महिनामा कम्पनीहरूमा ९ लाख २१ हजार ८९४ वटा बीमालेख जारी भएका छन् ।

जीवन बीमा कम्पनीले बागमती प्रदेशबाट सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूले यस प्रदेशबाट ३ अर्ब ९० करोड १३ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन कुल बीमाशुल्कको ४२.९९ प्रतिशत हो ।

कम्पनीहरूले लुम्बिनी प्रदेशबाट १ अर्ब ३२ लाख २७ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो कुल बीमाशुल्कको १४.५७ प्रतिशत हुन आउँछ ।

कम्पनीहरूले प्रदेश १ बाट १ अर्ब १० करोड ६८ लाख रूपैयाँ, गण्डकी प्रदेशबाट १ अर्ब ४ करोड २४ लाख रूपैयाँ, मधेश प्रदेशबाट ८८ करोड १४ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

कुल बीमाशुल्क संकलनमा प्रदेश १ को योगदान १२.२० प्रतिशत, गण्डकी प्रदेशको योगदान ११.४९ प्रतिशत र मधेश प्रदेशको योगदान ९.१७ प्रतिशत छ ।

यस्तै, कम्पनीहरूले सुदुरपश्चिम प्रदेशबाट ४७ करोड १५ लाख रूपैयाँ र कर्णाली प्रदेशबाट ३४ करोड ९७ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

कुल बीमाशुल्कमा सुदुरपश्चिम प्रदेशको योगदान ५.२० प्रतिशत र कर्णाली प्रदेशको योगदान ३.८५ प्रतिशत हुन आउँछ ।

जेठ महिनामा सावधिक जीवन बीमा योजना अन्तर्गत २० लाख ८९५ वटा बीमालेख जारी भएका छन् । यस बीमा योजना जारी गरी कम्पनीहरूले ३ अर्ब ४२ करोड १४ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

कम्पनीहरूले यस अवधिमा अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख जारी गरी २ अर्ब २ करोड ६८ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा ४ लाख ४१ हजार ९६१ वटा अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख जारी भएका छन् ।

बालबच्चा सावधिक जीवन बीमा योजनाबाट कम्पनीहरूले १ अर्ब ४० करोड २ लाख रूपैयाँ, रूपान्तरित जीवन बीमा योजनाबाट १ अर्ब ३० करोड ९३ लाख रूपैयाँ, वैदेशिक रोजगार म्यादी बीमालेखबाट २५ करोड ३ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

आजीवन जीवन बीमाबाट २६ करोड ६८ लाख रूपैयाँ, एकल बीमाशुल्क जीवन बीमाबाट ९ करोड रूपैयाँ, म्यादी जीवन बीमाबाट ९ करोड ४५ लाख रूपैयाँ र लघु जीवन बीमाबाट २१ करोड ६३ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु