बुटवल-गोरुसिंगे-चन्द्रौटाको ६९ किमी सडक ४ लेनको बनाउन विश्व बैंकले ३५ अर्ब सहयोग गर्ने



काठमाडौं । विश्व बैंकले नेपालको सडक स्तरोन्नतीका लागि २७५ मिलियन डलर अर्थात् करिब ३५ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ ।

उक्त सहयोग पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–गोरुसिंगे–चन्द्रौटाको ६९ किलोमिटरको सडक स्तरोन्नतीका लागि खर्च हुनेछ । हाल २ लेनको सडकलाई स्तरोन्नती गरी ४ लेनको बनाइने छ । र, यसले सवारी साधनलाई पार गर्न लाग्ने समय ३० प्रतिशत कम गराउने विश्व बैंकको विश्वास छ ।

सडक स्तरोन्नती भएपछि क्षेत्रीय व्यापारमा सुधार तथा यातायातको लागत घटाउने विश्व बैंकको भनाइ छ । साथै, सहज यातायात हुँदा भारतको पश्चिमी बन्दरगाहमा समेत पहुँच सहज हुने अपेक्षा गरिएको छ ।

विश्व बैंकअनुसार परियोजनाले महिला उद्यमी र व्यापारीहरूका लागि राजमार्ग छेउमा कम्तीमा तीनवटा बजार क्षेत्र निर्माण गर्नेछ । जसबाट उक्त क्षेत्रबाट महिलाहरू आर्थिकरुपले लाभान्वित हुने विश्व बैंकले भनाइ छ ।

परियोजना अन्तर्गत बजार क्षेत्रमा महिलाका लागि छुट्टै शौचालय, निःशुल्क वाइफाइ सुविधा र समयसापेक्ष व्यापार तथा बजार जानकारीसहितको डिजिटल बुलेटिन बोर्डको व्यवस्था गरिनेछ ।

त्यस्तै, वीरगञ्ज र भैरहवा सीमा नाकामा व्यापार र भन्सार प्रक्रिया अभिवृद्धि गर्न क्षमता अभिवृद्धिमा समेत सडक स्तरोन्नतीको परियोजनाले मद्दत गर्ने विश्वास लिइएको छ ।

परियोजनाले नेपालले यसअघि गरेको ‘मोटर भेहिकल एग्रिमेन्ट’ कार्यान्वयनमा मद्दत गर्नुका साथै कनेक्टिभिटी बढाउने विश्वास लिइएको छ ।

‘नेपालसँग क्षेत्रीय व्यापार र निर्यातको सम्भावना ठूलो छ । तर, व्यापारमा कनेक्टिभिटीमा सुधार हुन नसक्दा व्यापार सहजीकरण हुन सकेको छैन,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद–जेर्भोसले भने, ‘यस परियोजनाले पर्यावरण अनुकुलताका साथै छिमेकी मुलुकहरुबीच कनेक्टिभिटी बढाउँदै आर्थिक विकासमा सहयोग गर्नेछ ।

विश्व बैंकले पूर्वी दक्षिण एसियाको व्यापार सुधार गर्नका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको छ । जसमा पहिलो चरणमा व्यापारमा सहजीकरण गर्नका लागि नेपाल र बंगलादेशलाई रकम स्वीकृत गरेको छ । जसका लागि विश्व बैंकले यी दुई देशमा १ खर्ब ३० अर्ब रुपैयाँ सहयोग गर्नेछ ।

जसमा पहिलो चरणमा यातायात र व्यापार कनेक्टिभिटीमा देखिएको पेपर बेस्ड प्रक्रियालाई सुधार गर्दै डिजिटलाइज्ड बनाउनेछ ।

साथै, सीमा पार गर्ने समय घट्ने र ट्रकको प्रवेश र निकासीको इलेक्ट्रोनिक माध्यमबाट ट्र्याकिङ, इलेक्ट्रोनिक लाइनिङ, स्मार्ट पार्किङ, र सीसीटीभी क्यामेरा जडान गरिनेछ ।


क्लिकमान्डु