सवारी साधनको आयातमा लगाइएको प्रतिबन्ध खुलाउन नाडाको माग, साउनदेखि प्रतिबन्ध हुँदैनः उद्योगमन्त्री



काठमाडौ । नेपाल अटोमोबाइल एशोसिएसन नेपाल (नाडा) ले निजी सवारी साधनहरूको आयातमा लगाइएको प्रतिबन्ध खुलाउन माग गरेको छ ।

नाडाको अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेटगरी सरकारले कार जीप र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरूको आयातमा लगाइएको प्रतिबन्ध खुला गर्न माग गरेको हो ।

भेटघाट तथा छलफलमा अध्यक्ष थापाले सरकारले देशको वर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै निजी प्रयोजनका कार, जीप र भ्यानलाई आउँदो असार मसान्तसम्मको मन्त्रालयले प्रतिबन्ध तत्काल खारेज गरी अटोमोवाइल व्यवसायीहरुलाई आफ्नो व्यवसाय गर्ने वातावरण सिर्जना गर्न अनुरोध गरेका छन् ।

त्यस्तै, बैंक तथा वित्तिय निकायहरूमा फाइनान्सको असहजता, एलसी मार्जिनमा गरिएका बृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएका वृद्धि जस्ता विषयहरूले विगत ८ महिना देखि अटोमोवाइल व्यवसायमा ८० प्रतिशतभन्दा बढीले ह्रास आएको उनले बताए ।

‘देशलाई भन्सार बिन्दुमा उठ्ने परल मूल्यभन्दा दोब्बर राजस्व बुझाउँदै देशको कूल कर राजश्वमा झण्डै २५ प्रतिशत योगदान पु¥याएको छ । अटोमोवाइल क्षेत्रमा खर्बौको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेका व्यवसायीहरु अहिले धरासायी हुने अवस्थामा पुगेका छन्,’ अध्यक्ष थापाले भने ।

नाडाले आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म नाडा अटो एक्सपो हुने भएकाले सहजताको लागि समेत निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध खुल्न जरुरी रहेको जिकिर गरे ।

भेटघाटको क्रममा मन्त्री दिलेन्द्रप्रसाद बडूले कार जीप र भ्यान जस्ता निजी सवारी साधनहरूको आयातमा लागेको प्रतिबन्ध यो असार मसान्तसम्मको लागि मात्र भएकोले आगामी साउन १ गते देखि सो प्रतिबन्ध फुकुवा हुने आश्वासन दिएको नाडाको भनाइ छ ।


क्लिकमान्डु