वाणिज्यमन्त्री बडूको भारतीय र बंगलादेशीमन्त्रीसँग छुट्टाछुट्टै भेट,व्यापार साझेदारीमा छलफल



काठमाडौं । स्विजरल्याण्डकाे जेनेभामा जारी विश्‍व व्यापार संगठनको १२ औं मन्त्रिस्तरीय सम्मेलनमा सहभागी उद्योग तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले समकक्षी भारतीय वाणिज्य तथा उद्याेगमन्त्री पीयूष गाेयल र बंगलादेशका वाणिज्यमन्त्री टिपु मुन्सीसँग छुट्टाछुट्टै भेट गरेका छन् ।

भारत र बंगलादेशका मन्त्रीसँग साेमबार भएकाे भेटमा बहुपक्षीय व्यापार, त्यसमा हाल सामना गर्नु परेका चुनाैती, द्विपक्षीय तथा बहुपक्षीय व्यापार सहजीकरण, वैदेशिक लगानी, ओैद्याेगिक पूर्वाधार निर्माणलगायत विविध पक्षमा छलफल भएकाे प्रतिनिधिमण्डलमा सहभागी उद्याेग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. नारायण प्रसाद रेग्मीले जानकारी दिए ।

मन्त्री बडूले कोरोना महामारीबाट भएको क्षति, सम्भावित खाद्य संकटको समाधान, कम विकसित मुलुकहरुको स्वास्थ्य प्रणालीको सुधार, प्रतिस्पर्धामा आधारित निर्यात प्रणालीमा विकसित मुलुकहरुबाट लिन सकिने लाभका विषयमा आवश्यक सहकार्य गरि अगाडि बढ्नुपर्ने बताएका थिए ।

नेपालमा लगानीमैत्री वातावरण बनाउन र लगानीकाे सुरक्षाका विषयमा सरकार प्रतिबद्ध रहेकाे बारे आफ्नाे धारणा राख्दै मन्त्रीले वस्तु तथा सेवाकाे विस्तार र लगानीका नयाँ सम्भावनाका क्षेत्रमा लगानी गरी पारस्परिक लाभ उठाउन सकिने धारणा राखे ।

यसअघि सम्मेलनकाे उद्घाटन सत्रलाई सम्बाेधन गर्नुहुँदै मन्त्री बडूले डब्लूटीओका सबै सदस्य राष्ट्रहरुसँग नियममा आधारित, निष्पक्ष, पारदर्शी सिद्धान्त र सम्भावित बहुपक्षीय व्यापार प्रणाली अवलम्बन गर्दै समृद्धि हासिल गर्न डब्लूटीओलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका थिए ।

उनले ई-कमर्शको प्रयाेग र क्षमता वृद्धि, डिजिटल डिभाइडलाई कम गर्न पहल गर्ने र उत्पादन क्षमता अभिवृद्धि गर्ने कुरामा पनि जोड दिए ।


क्लिकमान्डु