सरकारलाई कसरी कम कर तिर्ने ? यी १० उपाय अबलम्बन गरेर बचाउनोस् कर तिर्ने पैसा



बढ्दो दबाबबीच अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आयमा लाग्ने करको सिलिङ परिवर्तन गरेका छन् । नयाँ व्यवस्थाअनुसार रोजगारी गर्ने एकल प्राकृतिक व्यक्तिका लागि पाँच लाख रुपैयाँसम्मको करयोग्य आय र दम्पत्तिको हकमा ६ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशतका दरले कर तिर्नुपर्नेछ ।

त्यस्तै त्यसभन्दा बढी आम्दानी बमोजिम १० प्रतिशतदेखि ३६ प्रतिशतसम्म आयकर तिर्नुपर्ने हुन्छ । तर, सरकारले यसरी तिर्नुपर्ने कर दोहोरो नहोस्, सहुलियत होस् र अन्य जोखिम बेहोर्ने संस्थालाई आकर्षित गर्नका लागि विभिन्न शीर्षक र संस्थाहरुमा गरेको लगानी बरावरको रकमलाई करयोग्य आयमा घटाउन पाउने सुबिधा समेत प्रदान गरेको छ ।

कतिपय व्यक्ति तथा रोजगारदाता संस्थाले सरकारले दिएको त्यस्ता सुविधाहरुको प्रयोगमा बेवास्ता गर्नाले आवश्यकभन्दा धेरै कर भुक्तानी गर्नु परिराखेको छ ।

यस्तै करयोग्य आयमा लागेको कर जोगाउने उपायबारेमा रोजगारदाता संस्था वा स्वयम् व्यक्ति समेत सचेत हुनु जरुरी छ । यसरी प्राकृतिक व्यक्तिको आयमा समावेश गर्न नपर्ने रकम र कर छुट/सुविधा हुने शीर्षकहरु यसप्रकार छन् ।

१) आयको पहिलो एक प्रतिशत कर नलाग्ने

परिश्रमिक प्राप्त गर्ने प्राकृतिक व्यक्ति, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सामेल भएमा पहिलो एक प्रतिशत कर लाग्ने छैन । उक्त व्यक्तिले यदि निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा पैसा जम्मा गर्ने हो भने एकल प्राकृतिक व्यक्तिको ५ लाख रुपैयाँसम्मको आय र दम्पत्तिको ६ लाख रुपौयाँसम्मको आयमा लाग्ने एक प्रतिशत सामाजिक सुरक्षा कर रकम छुट हुन्छ । उक्त एक प्रतिशत रकम भनेको प्राकृतिक एकल व्यक्तिको ५ हजार र दम्पत्तिको हकमा ६ हजार रुपैयाँ रकम छुट हुनु हो ।

२) अवकाश कोषमा योगदान गर्दा बढीमा पाँच लाखसम्म छुट

कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले अवकाश कोषमा योगदान गर्दा ३ लाख रुपैयाँ वा निजको निर्धारणयोग्य आयको एक तिहाइमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सक्नेछ । यसरी पारिश्रमिक प्राप्त गर्ने वा रोजगारी गर्ने व्यक्तिहरुले आयको निश्चित रकम नागरिक लगानी कोष अन्तर्गतको अवकाश कोषमा जम्मा गरेको खण्डमा वढीमा ३ लाख रुपैयाँसम्म निजको करयोग्य आयबाट घटाउन पाइन्छ ।

अर्कोतर्फ सामाजिक सुरक्षा कोषमा योगदान गर्ने कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले पनि सो कोषमा योगदान गर्दा अधिकतम ५ लाख रुपैयाँ वा निजको निर्धारणयोग्य आयको एक तिहाइमा जुन घटी हुन्छ सो रकमसम्म करयोग्य आयबाट घटाउन सकिन्छ ।

यो सुविधा लिनका लागि पारिश्रमिक प्राप्त गर्ने प्राकृतिक व्यक्तिहरुले सामाजिक सुरक्षा कोषमा निश्चित रकम जम्मा गर्दै जानुपर्ने हुन्छ र बढीमा वार्षिक ५ लाख रुपैयाँसम्मको बचत रकमलाई निजको करयोग्य आयबाट घटाएर बाँकी पारिश्रमिक आयमा मात्र तोकिएको दरमा कर लाग्दछ ।

३) करयोग्य आयमा लगानी बीमा बापतको ४० हजार घटाउन पाइने

सरकारले बासिन्दा प्राकृतिक व्यक्तिद्वारा जीबन बीमा गरेको खण्डमा अधिकतम वार्षिक अधिकतम ४० हजार रुपैयाँसम्म निजको करयोग्य आयमा मिलान गर्न पाउने व्यवस्था गरेको छ । वार्षिक ४० हजार रुपैयाँसम्मको बीमा प्रिमियम तिर्ने गरी कुनै बासिन्दा प्राकृतिक व्यक्ति कर्मचारीले कुनैपनि बीमा कम्पनीबाट बीमा गरेको खण्डमा निजको बीमातर्फ पनि बचत बढ्दै जाने र यता पारिश्रमिक बापत तिर्नुपर्ने कर रकम पनि कम हुनेहुँदा निजलाई दोहोरो फाइदा प्राप्त हुन्छ ।

४) करयोग्य आयमा स्वास्थ्य बीमा बापतको २० हजार रुपैयाँ घटाउन पाइने

यसरी लगानी बीमावापत मात्र नभइ कुनैपनि प्राकृतिक व्यक्ति कर्मचारीले आफ्नो स्वेच्छाले स्वास्थ्य बीमा गरेको खण्डमा निजको वार्षिक अधिकतम २० हजार रुपैयाँसम्मको प्रिमियम रकम करयोग्य आयमा मिलान गर्न पाइने व्यवस्था छ । यसरी लगानी बीमा या स्वास्थ्य बीमा गर्नका लागि आफू संलग्न संस्थाको संस्थागत निर्णय आवश्यक पर्दैन । यस्तो बीमा कर्मचारी स्वयमले व्यक्तिगतरुपमा गर्न सक्छन र सोको प्रमाण सम्बन्धित संस्थामा पेश गरेपछि निजको करयोग्य आयमा उक्त रकम मिलान गर्न पाउने कर्मचारीको अधिकार रहन्छ ।

५) करयोग्य आयमा निजी भवनको बीमा वापतको ५ हजार घटाउन पाइने

यदि बासिन्दा प्राकृतिक व्यक्तिले आफ्नो नाममा रहेको निजी भवनको बीमा गरेको खण्डमा सो प्रिमियम वापतको वार्षिक रकमको अधिकतम ५ हजार रुपैयाँसम्म निजको करयोग्य आयमा घटाउन पाइन्छ । यसरी प्राकृतिक व्यक्तिले आफ्नो निजी भवनको जोखिम बीमा गर्दा आफ्नो सम्पत्तिको जोखिम संरक्षण पनि हुन्छ भने अर्कोतर्फ आफ्नो पारिश्रमिक वापतको रकममा तिनुपर्ने कर रकमको दायित्व पनि कम भइ दोहोरो फाइदा पुग्छ ।

६) औषधि उपचार खर्चवापत ७५० रुपैयाँ कर रकममा मिलान गर्न पाइने

यदि प्राकृतिक व्यक्तिको औषधि उपचारवापत खर्च भएको रकम छ भने स्वीकृत औषधि उपचार खर्चवापत विल बमोजिमको वास्तविक खर्च रकमको १५ प्रतिशत वा ७५० रुपैयाँमा जुन घटी हुन्छ उक्त रकम सोझै कर रकममा मिलान गर्न सकिने छ । कुनै पनि कर्मचारीले आफ्नो औषधि उपचारवापत लागेको खर्चको बिल भर्पाइ सम्बन्धित संस्थामा पेश गरेपछि सोको १५ प्रतिशत वा ७५० रुपैयाँमा जुन कम हुन्छ सो रकम निजको पारिश्रमिक आयवापत लाग्ने कर रकममा घटाउन पाइने व्यवस्था छ ।

७) महिलालाई लाग्ने करमा १० प्रतिशत छुट

आर्थिक ऐनले पारिश्रमिक हुने महिलाका लागि निजको तिर्नुपर्ने कर रकममा १० प्रतिशत छुटको व्यवस्था छ । यदि पारिश्रमिक आय मात्र गर्ने बासिन्दा प्राकृतिक व्यक्ति महिला भएको खण्डमा त्यस्तो महिलाको हकमा निजले तिर्नुपर्ने कूल कर रकममा १० प्रतिशत छुट हुनेछ ।

८) दुर्गम क्षेत्रमा कार्य गरेवापत ५० हजारसम्म करयोग्य आयमा छुट

सरकारले सबै जिल्लालाई भौगोलिक बनोटको आधारमा दुर्गम र सुगम गरी विभिन्न वर्गमा बिभाजन गरेको छ । विभिन्न वर्गमा पर्ने क्षेत्रमा कार्य गरेबापत रोजगारी गर्ने प्राकृतिक व्यक्तिले अतिरिक्त तलब/भत्ता प्राप्त गर्दछन् । त्यसरी प्राप्त गरेको तलब÷भत्तालाई निजको करयोग्य आयमा घटाउन पाउने व्यवस्था छ ।

जसअनुसार ‘क’ वर्गका क्षेत्रमा ५० हजार रुपैयाँ, ‘ख’ वर्गका क्षेत्रमा ४० हजार रुपैयाँ, ‘ग’ वर्गका क्षेत्रमा ३० हजार रुपैयाँ, ‘घ’ वर्गका क्षेत्रमा काम गर्नेको हकमा २० हजार रुपैयाँ, ‘ङ’ वर्गका क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिका लागि १० हजार रुपैयाँ निजको करयोग्य आयबाट घटाउन पाइने व्यवस्था छ ।

९) वैदेशिक भत्तावापतप्राप्त रकमको ७५ प्रतिशत रकम करयोग्य आयमा छुट

ऐनअनुसार नेपालका विदेशस्थित कुटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई प्राप्त हुने वैदेशिक भत्ताको ७५ प्रतिशत रकम निजहरुको करयोग्य आयबाट घटाउन पाउने व्यवस्था छ ।

१०) अपांग व्यक्तिले करयोग्य आयमा छुट

यदि बासिन्दा प्राकृतिक व्यक्ति अपांग रहेको खण्डमा त्यस्तो व्यक्तिले करयोग्य आयबाट छुट पाउने अन्य सीमामा थप ५० प्रतिशत थप रकम घटाउन पाउनेछन् । यसरी शारीरिक वा वौद्धिक अपांग व्यक्ति पारिश्रमिक बुझ्ने बासिन्दा प्राकृतिक व्यक्ति भएको खण्डमा अन्य व्यक्तिले प्राप्त गर्नेमाथिका सम्पूर्ण छुट सुविधाको सीमामा थप ५० प्रतिशतले हुने रकम थप गरी अतिरिक्त छुट पाउने व्यवस्था छ ।


क्लिकमान्डु