सीडी रेसियो ९०% तल, तरलतामा सुधारको संकेत



काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थपिएपछि कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ९० प्रतिशतभन्दा तल आएको छ ।

नेपाल राष्ट्र बैंकले सीडी रेसियो अनुपात ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको थियो । तरलता अभावको कारण बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि थियो । अझ केही बैंकको ९९ प्रतिशतसम्म सीडी रेसियो पुगेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबारसम्म वाणिज्य बैंकको निक्षेप ४३ खर्ब ९३ अर्ब पुगेको छ । बैशाख मसान्तसम्ममा बैंकहरुको निक्षेप ४३ खर्ब ७० अर्ब थियो । जेठको तेस्रो सातासम्ममा बैंकमा २० अर्बभन्दा बढीले निक्षेप बढेको छ ।

विकास बैंक र फाइनान्स कम्पनीसँग गरेर ५ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप छ । वाणिज्य बैंकहरुले ४१ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा दिएका छन् । विकास बैंक र फाइनान्स कम्पनीले ५ खर्ब ३१ अर्ब रुपैयाँ ऋण दिएका छन् ।

तरलतामा सामान्य सुधार हुँदा ७ प्रतिशतभन्दा माथि गइसकेको अन्तर बैंक ब्याजदर ७ प्रतिशतमा आएको छ । सरकारको खर्च बढेमा असार मसान्तमा अहिले देखिएको तरलता समस्या केही समाधान हुने अनुमान बैंकरको छ ।

सरकारले १ खर्ब ३० अर्ब अहिलेसम्म विकास खर्च गरेको छ । जेठ महिनाको तीन सातामा सरकारको विकास खर्च १८ अर्बले मात्र बढेको छ । सरकारले ८० प्रतिशत विकास खर्च हुने अनुमान गरेको छ । सरकारको अनुमान अनुसार अबको ५ हप्ताभित्रमा २ खर्ब ७० अर्ब विकास खर्च हुनुपर्छ ।


क्लिकमान्डु