आफ्नै पार्टीका नेताहरुले मेरो बदनाम गर्न खोजिरहेका छन्ः पर्यटनमन्त्री आले



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन् ।

पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टीभित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका हुन् । उनले आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै अन्य नेताहरुलाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरे ।

मन्त्री आलेले पार्टीका केही नेताहरुले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेकोप्रति आपत्ति जनाए । मन्त्री आलेले आफू मन्त्री रहुन्जेल देश र जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

उनको भनाइ जस्ताको त्यस्तै

मैले मेरो पार्टीको आदरणीय नेता माधवकुमार नेपाललाई मन्त्रीमण्डल निर्माण गर्दा ६ महिनाको लागि हामीलाई तोकिएको थियो । मैले त्यही बेला भनेको थिएँ, हामीले त आठ महिना खान पायौँ । दुई महिना त ग्रेसपार्क पाइसक्यो । अरु साथीहरुलाई मौका दिने तपाईको इच्छा छ भने दिनुहोस् म खुशी छु भनेर मैले सहमति पनि दिएको हो । तर, हाम्रै पार्टी भित्रका केही चिप्ले चोरहरु÷चिप्ले किराहरु आलेले धरै चलखेल गर्यो भनेर अन्तर्वार्ता दिइरहेका छन् । मलाई कुनै मन्त्रीको लोभ छैन । म जति दिन, जति समय, यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी काम गर्दछु । तीन पटकसम्म जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पशुपति क्षेत्र विकास कोषले बतासले कब्जा गरेको धर्मशालाको बिरुद्धमा हामीले मुद्दा जित्दै आएका छाँै । वडा नम्बर ८ का अध्यक्ष ज्यू यहीँ हुनुहुन्छ । मैले त्यो बेलामा मुचुल्का बनाउँदा वडाध्यक्षज्यूलाई हारगुहार गरेँ, सदस्यसचिव ज्यूले हारगुहार गर्नुभयो, आएर प्रतिनिधि बसिदिनुहोस् भन्दा वडाध्यक्ष कहिले भोजमा छ, वडा सदस्यहरु फोन गरेको पटकपटक सबै बिरामी एकैदिन । यस्तो खालको दरिद्रताले देश बन्दैन । हामीले तीनवटा मुद्दा जितिसकेका छौँ, अब छिटै यो धर्मशाला देश विदेशमा रहेका हिन्दु धर्मावलम्वीहरुले पशुपति क्षेत्रमा पूजा आराधना गर्न आउँदा सस्तो सुलवमा बस्न खान पाउन्, भनेर भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रुपैयाँ दिएर त्यो धर्मशाला बनाएको हो । आज बतास समूहलाई कौडीको भाउमा दिने काम भएको छ ।


क्लिकमान्डु