भैरहवा सेजमा सञ्चालिन ७ उद्योगले कति गरे निर्यात ?



काठमाडौं । सरकारले निर्यात प्रवर्द्धन गर्न भन्दै निर्माण गरेको भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज)मा सञ्चालनमा रहेका उद्योगले निर्यात गर्न शुरु गरेको झन्डै तीन वर्ष भयो ।

भैरहवाकाे सेजमा अहिले ७ उद्योग सञ्चालनमा छन् । तीन वर्षमा उनीहरुको निर्यात भने सानो छ ।

भैरहवा सेजमा सञ्चालनमा रहेका सात उद्योगले वस्तु उत्पादन गरेर निर्यात गर्न थालिसकेको विशेष आर्थिक क्षेत्रका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्ट बताए ।

‘गत आर्थिक वर्षमा ती उद्योग झन्डै १ अर्ब रुपैयाँ बराबरको निर्यात गरेका थिए,’ भट्टले भने, ‘निर्यात बढ्दो छ ।’

उक्त सेजमा मिनिरल उद्योग, पानी ट्यांकी उद्योग, एलइडी लाइट उत्पादन उद्योग, प्लाष्टिकको कन्टेनर बनाउने उद्योग र मटेलका २ वटा उद्योग सञ्चालनमा छन् ।

ऐनअनुसार सेजमा सञ्चालन हुने उद्योगले आफ्नो उत्पादनको कम्तिमा ६० प्रतिशत निर्यात गुर्नपर्छ । तर, उद्योग सञ्चालनमा आएको २ वर्षसम्म भने उनीहरुलाई बजार विस्तारको लागि भनेर तयारी समय दिइन्छ ।

उद्योग सञ्चालनमा आएको तीन वर्ष लागेपछि भने आफ्नो उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था छ ।

आर्थिक वर्ष २०७६/७७ बाट उक्त सेजबाट निर्यात शुरु भएको थियो । उक्त वर्ष तीन उद्योगहरु ब्रिलेन्ट लाइटेनिङ, शक्ति मिनिरल्स र विस्तार ग्लोबल सञ्चालनमा आएका थिए ।

यो वर्ष शक्ति मिनिरल्स आफ्नो उत्पादनको २३ प्रतिशत, ब्रिलेन्टले ६५.७३ प्रतिशत र विस्तारले सत प्रतिशत निर्यात गरेको थियो । विस्तारले स्टिलका खाने थाली, कचौरा, प्लेट उत्पादन गर्छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ब्रिलेन्ट आफ्नो उत्पादनको २३.८९ प्रतिशत, शक्ति मिनिरल्सले २.५६ प्रतिशत र विस्तारले ९८.६२ प्रतिशत निर्यात गरेका थिए ।

यो वर्ष मुलुकमा कोरोना महामारी शुरु भएको थियो । त्यसै वर्ष थपिएको नयाँ उद्योग पञ्चकन्याले फागुनदेखि उत्पादन शुरु गरेका थियो तर चैतदेखि कोरोन महामारी शुरु भयो । यो वर्ष पञ्जकन्याले १.८३ प्रतिशत निर्यात गर्यो ।

चालु आर्थिक वर्ष २०७८/७९ मा भैरहजा सेजमा सञ्चालनमा आएका उद्योगको संख्या ७ पुगेको छ । यी उद्योगमध्ये ५ वटाले निर्यात गर्न सकेका छन् भने २ वटाले आन्तरिक खपत मात्र गरेका छन् ।

चालु आवमा ब्रिलेन्टको ६८.५९ प्रतिशत, शक्ति मिनिरल्सले १९.०७ प्रतिशत र विस्तारको ८१.५० प्रतिशत निर्यात गरेका छन् ।
यस वर्ष दुई उद्योगहरु एस पोलिमर्स र जयबुद्ध थपिएका छन् । यी उद्योग आएको दुई महिनामात्र भएको छ । यसअवधिमा यिनीहरुले क्रमशः २.५ र ७.०६ प्रतिशत निर्यात गरेक छन् ।

भैरहवा सेजमा यो वर्ष नयाँ २२ उद्योग सञ्चालनमा आउन लागेको भट्टले बताए । सेजमा उपलब्ध भएका सबै प्लटहरु बुकिङ भइसकेको पनि उनले पनि जानकारी गराए ।

‘अब यी नयाँ २२ उद्योगहरु साइटमा जाने तयारी गरिरहेका छन्,’ भट्टले भने, ‘उनीहरु पनि छिट्टै सञ्चालनमा आउनेछन् ।’

सरकारले निर्यातमूलक उद्योगलाई एकै स्थानबाट पूर्वाधार लिगायतका सेवाहरु उपलब्ध गराउन मुलुकका ५ स्थानमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने लक्ष्य राखेको छ ।

२०७८ फागुनसम्म भैरहवासँगै सिमरामा विशेष आर्थिक क्षेत्र पनि स्थापना भएको छ । साथै, पाँचखालमा पूर्वाधार निर्माणको कार्य अगाडि बढेको छ ।

सरकारले वर्तमान ऐनलाई संशोधन गरेर निर्यातको विषयमा नयाँ व्यवस्था गर्न लागेको छ । नयाँ व्यवस्था अनुसार तीन वर्षमा २० प्रतिशत, ४ वर्ष लागेपछि ४० प्रतिशत र ५ वर्ष लागेपछि ६० प्रतिशत निर्यात गर्नुपर्ने गर्न लागिएको छ ।


क्लिकमान्डु