बिलेट आयातमा लाग्ने अन्तःशुल्क झनै बढ्यो, डण्डीको मूल्य बढ्ने



काठमाडौं । बिलेट आयातमा लाग्ने अन्तःशुल्क सरकारले झनै बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमा बिलेट आयातमा प्रतिमेट्रिक ३५ सय पुर्याएको छ ।

यसअघि अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक मार्फत बिलेट आयातको अन्तःशुल्क १६५० बाट बढाएर २५ सय पुर्याएका थिए । बिलेट उत्पादनको लागि चाहिने स्पन्च आइरनको आयातमा लाग्ने अन्तःशुल्कलाई प्रतिस्थापन विधेयकमा शुन्यमा झारेका थिए ।

अर्थमन्त्री शर्माले बजेट मार्फत स्पन्च आइरनमा १ प्रतिशत अन्तःशुल्क लगाउने निर्णय लिएका छन् ।

भारतले पछिल्लो आफ्नो उद्योग संरक्षणको लागि फलामजन्य सामानको निर्यातमा कर बढाएको छ । जसले गर्दा कच्चा पदार्थ आयात बढेको छ । विश्व बजारमा फलामको मूल्य बढ्दै गएको कारण निर्माण लागत बढ्दै गएको छ ।

सरकारको नीतिले बिलेट आयात गरेर डण्डी बनाउने उद्योग करिब बन्द हुने अवस्थामा पुग्ने देखिएको छ । गतवर्ष बिलेट आयातमा अन्तःशुल्क बढाउने नीतिको विरोधमा उद्योगीहरु विभाजित भएका थिए । एमएस बिलेट आयात गरेर डण्डी बनाउने उद्योगी विपक्षमा तथा स्पन्च आइरन आयात गरेर बिलेट तथा डण्डी बनाउने उद्योग पक्षमा देखिएका थिए ।

गतवर्ष सरकारले बिलेटमा अन्तःशुल्क बढाउने नीति लिएपछि केही उद्योगहरु बिलेट उद्योगमा सिफ्ट भइसकेका छन् । अहिले एक दर्जनभन्दा बढी उद्योगले स्पन्च आइरन आयात गरेर बिलेट तथा डण्डी उत्पादन गर्ने गर्छन् ।

‘बिलेट उत्पादन नगर्ने उद्योग अब बन्द हुने पक्का भयो,सरकारले डण्डी उद्योगलाई डुबाउने पक्का भयो,’डण्डी उत्पादन गर्ने एक उद्योगीले भने । सरकारको बजेटको नीतिले फलामबाट उत्पादन हुने सबै सामाग्रीको मूल्य बढ्ने उद्योगीहरु बताउँछन् ।


क्लिकमान्डु