तराईका ७ सहरका विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन बनाउने घोषणा
काठमाडौं । सरकारले तराईका ७ सहरमा आधुनिक टर्मिनल भवन बनाउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम चन्द्रगढी, राजविराज, जनकपुर, सिमरा, भरतपुर, नेपालगञ्ज र धनगढीका विमानस्थलमा आधुनिक र सुविधा सम्पन्न टर्मिनल भवन बनाउने उल्लेख छ ।
पछिल्लो समय तराईका विमानस्थलमा यात्रुको संख्या बढ्दा पुराना टर्मिनल भवनले यात्रुको चाप धान्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताउँदै आएको थियो ।
दुई वर्ष अगाडि बिराटनगर र नेपालगञ्जमा नयाँ टर्मिनल भवन बनाउने टेण्डर प्रक्रिया शुरु भए पनि विवादित भएपछि गत पुसमा ठेक्का प्रक्रिया रद्द गरिएको थियो ।