आगामी बजेटका लागि पूर्व अर्थमन्त्रीहरुका यस्ता छन् दर्जनबढी सुझाव



काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेटमा केन्द्रित भइ पूर्व अर्थमन्त्री फोरमको बैंठक सम्पन्न भएको छ ।

बैंठकमा दिगो आर्थिक विकासका लक्ष्यहरुको प्राप्ति, दिगो लगानी प्रवद्र्धन, नीतिगत सुधार, कृषि क्षेत्रको सुधार तथा प्रवद्र्धन, शिक्षा, पर्यटन, निर्यात प्रबद्र्धन, पुँजिगत खर्च वृद्धिलगायतका महत्वपूर्ण विषयहरुमा आगामी बजेटमार्फत कसरी सम्बोधन गर्ने÷गराउने भन्ने विषयहरुमा छलफल भएको छ ।

देशको वर्तमान आर्थिक अवस्था चुनौतिपूर्ण बन्दै गइरहेको सन्दर्भमा नीतिगत तथा क्षेत्रगत सुधारमा फड्को मार्नुपर्नेमा सहभागीहरुको भनाइ छ । आगामी बजेटको आकार बढाउँदा विचार गर्नुपर्ने, मुलुकको खर्च व्यवस्थापनमा संतुलन कायम गर्नुपर्ने, सामाजिक सुरक्षामा खर्च बढ्दै गइरहेकाले राष्ट्रिय सहमतिका आधारमा व्यवस्थापन गर्दै जानुपर्ने सुझाव वक्ताहरुको रहेको छ ।

उत्पादकत्व वृद्धिमा जोड दिँदै निर्यात प्रबद्र्धन गर्नुपर्ने, प्रोत्साहनसहित विप्रेषणलाई बैंकिङ च्यानलबाट व्यवस्थित तथा बढ्वा दिने गरी आकर्षित गराइनुपर्ने निर्देशित लगानीका विषयमा पुनर्विचार गर्ने जस्ता महत्वपुर्ण विषयहरुमा बैंठकमा सहभागी विज्ञहरुले सुझाव दिएका छन् ।

छलफलमा कृषि तथा वन क्षेत्रको विकासका लागि जैविक विविधतालाई ध्यान दिइ प्रवद्र्धन गरिनुपर्ने विषयमा छलफल भएको छ । स्थानीय सरकारलाई बलियो बनाइ स्थानीय घरेलु, साना तथा मझौला व्यवसायलाई स्तरोन्नति गर्दै आवश्यक पूर्वाधारहरुको निर्माण, (कस्टम हायरिङ सेन्टर, कोल्ड स्टोरेज, एग्रो प्रोसेसिङ जोन, भण्डारण, बजार व्यवस्थापन) रोजगारी तथा उत्पादन वृद्धिमा जोड दिइएको छ ।

आगामी बजेटले नीतिगत सुधारमा फड्को मार्न सक्यो भने मात्र वर्तमान अवस्थामा देखिएको कमजोर आर्थिक अवस्थालाई सुधार गर्न सकिने बैंठकको निष्कर्ष रहेको थियो । बैंठकमा प्राप्त सुझावलाई अर्थमन्त्रीलाई बुझाउन फोरमका सदस्य सचिव बिमल केडियाको भनाइ छ ।

छलफलमा पूर्व अर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, डा. रामशरण महत, बर्षमान पुन, डा. युवराज खतिवडा लगायतको सहभागिता रहेको थियो ।


क्लिकमान्डु