केपी ओली सफा र शालिन तरिकाले बोले नयाँ हाे, मुखमा अंगार हुनेले ओकल्ने कालै होः गगन थापा



काठमाडौं । ‘केपी ओली सफा र शालिन तरिकाले बोल्नु भयो भने समाचार हो । उहाँले मुख छाड्नु कुनै नौला विषय होइन ।

जसको मुखमा अंगार छ उसले ओकल्ने कालै हो,’ बुधबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी ओलीलाई प्रतिक्रिया स्वरुप दिएको अभिव्यक्ति हो ।

केपी ओलीले मंगलबार सन्त नेता मनमोहन अधिकारीको २३औं स्मृति दिवसको अवसरमा कांग्रेसको घोषणापत्रका विषयमा बोल्दै ‘बकवास र पागलहरुको प्रलाप’ भन्दै टिप्पणी गरेका थिए ।

जसको जवाफमा महामन्त्री थापाले थपे, ‘केपी ओली जहिले पनि झुट बोल्नुहुन्छ, यदि कोही आँट भएको व्यक्तिले उहाँलाई तपाईं झुट बोल्नु हुनुहुन्छ भन्यो भने उहाँलाई त्यो मन पर्दैन र उसलाई पागल भन्नुहुन्छ, उहाँले सुशीला कार्की र गोविन्द केसीलाई पनि पागल नै भन्नु भएको थियो ।’

उनले अगाडि थपे, ‘कसैका विषयमा प्याच्च बोल्ने, प्रतिद्वन्द्वीप्रति कुण्ठाले भरिएको अभिव्यक्ति दिने र समर्थकको ताली लिएर भरपेट खाएर सुत्ने मान्छे केपी ओली हो ।’

थापाले कांग्रेसको घोषणापत्रमा भएका कन्टेन्टका विषयमा केही पनि कुरा नभनेको बताए ।

‘केपी ओलीलाई उहाँको झुटको खेतीको पर्दाफास गरेको कुरा सहन सक्नु भएन,’ उनले भने, ‘उहाँलाई मन पर्ने कुरा गर्ने बाहनामा कालोलाई सेतो भन्न सकिन्न ।’

थापाले केपी ओलीलाई लजिक मन नपर्ने भन्दै कुनै दिन मिलाएर बालकोटमै पुगेर ट्युसन पढाउनु पर्ने अवस्था आएको बताए ।

‘केपी ओलीको समृद्धिमा अहंकारको भ्यूटावर छ, उत्तेजना, घृणा, रिस, मौका परेको बेलामा जात र धर्म उचाल्ने बदनियत छ,’ थापाले भने, ‘तर कांग्रेसको समुन्नतीमा जात र धर्मबीच सद्भावको कामना छ । त्यसबाट बनेको एकताको भावना छ ।’

उनले अगाडि थपे, ‘केपी ओलीलाई लजिक मन पर्दैन, उहाँ म्याजिकमा मात्रै विश्वास गर्नुहुन्छ, हामीले लजिक राखेका छौं, म्याजिक होइन ।’


क्लिकमान्डु