५५ प्रतिशत बीमा अभिकर्ताले मात्रै समयमा गराए इजाजतपत्र नवीकरण



काठमाडौं । तथ्यांकमा बीमा अभिकर्ताको इजाजतपत्र लिनेको संख्या बढेको देखिए पनि नवीकरण गर्नेको संख्या भने कम हुँदै गएको छ ।

बीमा समितिकाअनुसार बीमा अभिकर्ताको इजाजतपत्र लिएकामध्ये ५५ प्रतिशतले मात्रै समयमा नै आफ्नो लाइसेन्स नवीकरण गराएका हुन् ।

बीमा अभिकर्ताले २०७९ सालमा काम गर्न २०७८ चैत मसान्तसम्ममा आफ्नो इजाजतपत्र नवीकरण गरिसक्नुपर्छ ।

थप दस्तुर तिरेर २०७९ असोज मसान्तसम्ममा इजाजतपत्र नवीकरण गर्न सकिने प्रावधान छ ।

समितिका अनुसार ०७८ चैत मसान्तसम्ममा १ लाख १० हजार बीमा अभिकर्ताले मात्रै आफ्नो इजाजतपत्र नवीकरण गराएका छन् ।

बीमा समितिकाअनुसार साढे २ लाख अभिकर्ताले इजाजतपत्र लिएका छन् । यस वर्ष मात्रै १ लाख नयाँ अभिकर्ता थप भएको बीमा समितिको भनाइ छ ।

बीमा अभिकर्ता र सर्भेयरले चैत मसान्त भित्रमा अनिवार्य रुपमा लाइसेन्स नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यदि चैत मसान्त भित्रमा नवीकरण नभएमा वैशाख लागेसँगै विलम्ब शुल्क भुक्तानी गरी आफ्नो लाइसेन्स नवीकरण गर्न पाउने व्यवस्था समितिले गरिदिएको छ ।

असार मसान्तसम्म अभिकर्ताले थप ३ सय रुपैयाँ दस्तुर तिरेर लाइसेन्स नवीकरण गर्न सक्छन् ।

तर, असारदेखि असोज मसान्तसम्म लाइसेन्स नवीकरण गर्दा भने अभिकर्ताले दिन गन्तिका हिसाबले ५ रुपैयाँ राजस्व थप लाग्ने समितिको भनाइ छ ।

असोज मसान्तसम्ममा पनि लाइसेन्स नवीकरण नगर्ने अभिकर्ताको लाइसेन्स खारेज गरिने बीमा समितिको नभाइ छ ।

समितिबाट इजाजतपत्र लिएका सबै अभिकर्ताले सक्रिय रुपमा व्यवसाय गरेका हुदैनन् । र, सक्रिय नभएका अभिकर्ताहरूले समयमा नै आफ्नो लाइसेन्स नवीकरण नगर्ने बीमा समितिको भनाइ छ ।

नवीकरण नगराएका अभिकर्ताको इजाजतपत्र खारेज गरिने समितिले बताएको छ ।

बीमा समितिले बीमा अभिकर्ता र बीमा सर्भेयरहरूलाई चैत ८ गतेदेखि अनलाइन माध्यमबाट लाइसेन्स नवीकरण गर्न सक्ने व्यवस्था मिलाएको थियो ।

बीमा समितिले कनेक्टआइपिएसमार्फत भुक्तानी सहित स्वचालित रुपमा नवीकरण हुने व्यवस्था मिलाएको थियो ।

जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र सर्भेयरले कनेक्ट आइपिएसमा गएर आफ्नो विवरण पोष्ट गर्ने वित्तीकै नवीकरण शुल्क भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको छ ।

साथै, शुल्क तिर्ने वित्तीकै ती अभिकर्ताहरूलाई नवीकरण भएको जानकारी प्राप्त हुनेछ ।

अभिकर्ताहरूले चैत मसान्तसम्म आफ्नो लाइसेन्स नवीकरण गर्दा २०० सय रुपैयाँ राजस्व बुझाउनु पर्ने समितिका कर्मचारीहरू बताउँछन् ।

वैशाखदेखि असार महिनासम्ममा लाइसेन्स नवीकरण गर्ने अभिकर्ताले ३ सय रुपैयाँ राजस्व तिर्नुपर्ने हुन्छ ।

यस्तै, समितिकानअुसार चैत मसान्तसम्ममा ७ सय भन्दा बढी बीमा सर्भेयरले आफ्नो इजाजतपत्र नवीकरण गराएका छन् ।

इजाजतपत्र नवीकरण गर्ने र नयाँ अभिकर्तालाई सक्रिय रहेको सूचीमा राखिने समितिको भनाइ छ ।

तर, अभिकर्ताको लाइसेन्स लिएका नयाँ अभिकर्ता पनि सबै जना व्यावसायिक रूपमा सक्रिय नरहने समितिको भनाइ छ ।


क्लिकमान्डु