ब्राण्डेड सामानको पसल राख्ने हो ? दरबार मलमा खाली छन् ६० वटा स्पेश



काठमाडौं । दरबारमार्ग अर्थात् विभिन्न विदेशी ब्राण्डेड सामान पाइने नेपालको एकमात्र ठाउँ । दरबारमार्ग ब्राण्डेड सामानको हब पनि हो । यहाँ विश्वचर्चित विभिन्न ब्राण्डका सामानहरु पाइन्छन् ।

ब्राण्डेड सामानको हब भएकाले यहाँको भाडा पनि अत्याधिक महंगो हुन्छ । किनभने, माग र आपूर्तिले मूल्य निर्धारण गर्ने अर्थशास्त्रको सिद्दान्त नै हो ।

दरबारमार्गमा पसल राख्नका लागि स्पेश नै पाउन मुस्किल छ । त्यही आवश्यकतालाई मध्यनजर गर्दै व्यापारिक घराना गुण समूहले दरबार मल सञ्चालनमा ल्याएको छ । साढे ३ रोपनी क्षेत्रफलमा अवस्थित ८ तल्ले अत्याधुनिक भवनमा रहेको उपलब्ध ठाउँ भाडामा लिएर तपाईंले ब्राण्डेड सामानको बिक्री वितरण गर्न सक्नुहुनेछ ।

मलमा १३५ वटा पसल, ६ वटा रेस्टुराँ र २ वटा सिनेमा हल रहने गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए । जसमध्ये २ वटा सिनेमा हल सञ्चालनमा आइसकेका छन् भने ६ वटा रेस्टुराँमध्ये २ वटा सञ्चालनमा आइसकेको र बाँकी ४ वटाको काम भइरहेको छ ।

१३५ वटा पसलका लागि उपलब्ध स्पेशमध्ये ७५ वटा बुकिङ भइसकेका छन् भने ६० वटा स्पेश अझै खाली रहेको शाक्यले जानकारी दिए । पसलका लागि न्यूनतम् २०० देखि अधिकतम ५०० स्क्वायर सिफटको स्पेश रहेको छ ।

मलमा एकतल्ले अण्डरग्राउण्ड पार्किङ छ । जसमा २५ वटा गाडी र ७०/८० वटा मोटरसाइकल पार्किङ गर्न मिल्छ ।

दरबार मलले बुकिङ खुल्ला गरेको ७ महिना भयो । कोरोना महामारीको असर नभइदिएको भए यो मल बनाउँदा बनाउँदै सबै स्पेशको बुकिङ भइसकेको हुने थियो । तर, कोरोनाको असरका कारण आम मान्छेहरु पर्ख र हेरको अवस्थामा रहेकाले ब्यापार विस्तार गर्न हिच्किचाइरहेका छन् । जसकारण अझैपनि दरबार मलका सबै स्पेश बुकिङ भइसकेका छैनन् ।

‘ग्राउण्ड र फस्ट फ्लोर करीब करीब बुकिङ भइसक्यो, सेकेन्ड र थर्ड फ्लोरमा भने अझै पर्याप्त स्पेश बाँकी छन्,’ शाक्यले भने ।

एउटा पसलका लागि न्यूनतम १ लाखदेखि ५ लाख रुपैयाँसम्म भाडा पर्ने उनले बताए ।

‘ब्राण्डेड सामानका लागि भााडामा दिने हो,’ उनले भने ।

शाक्यका अनुसार मलको बिजनेश एकदमै राम्रो छ । तर, अहिले कोरोनाका कारणले मान्छेहरु डराएकाले केही समस्या भइरहेको छ । कोरोनाको असर सकिएपछि बुम हुने उनको अपेक्षा छ ।

‘कोरोनाअघिको अवस्था भइदिएको भए बनाउँदा बनाउँदै बुकिङ भइसकेको हुन्थ्यो,’ शाक्यले भने, ‘अहिले पनि इन्क्वायरी एकदमै धेरै छ । तर, मान्छेहरु बुकिङ गर्न डराइरहेका छन् ।’

शाक्यले उक्त जमिन २०६४ सालतिर किनेका हुन् । मल नै बनाउने उदेश्यले किनिएको भएपनि गुण एयरलाइन्स बन्द भएपछि उनको व्यावसायिक यात्रा ओरालोतर्फ लाग्यो । गुण सहकारीको अर्बौं निक्षेप फिर्ता गर्नुपर्ने अवस्था आइलाग्यो । जसको व्यवस्थापन गर्न शाक्यलाई वर्षौं लाग्यो ।

डाउनफल शुरु भएपछि ८ वर्ष समस्यामा विताएका शाक्य केही वर्षयता समस्याको समाधान गरेर रिभाइभ भएका छन् । गुण एयरलाइन्स र गुण सहकारी दुबै सञ्चालनमा आइसकेका छन् । शाक्यले अन्य व्यवसायमा पनि हात हालेका छन्, त्यसमध्येकै हो दरबार मल ।


क्लिकमान्डु