२० करोड लगानीमा राजेन्द्र शाक्यले दरबारमार्गमा शुरु गर्दैछन् ‘क्यूएफएक्स दरबार मल सिनेमा’, टिकट मूल्य १ हजार



काठमाडौं । कोभिडले थलापरेका उद्योगमध्ये एक हो, चलचित्र उद्योग । ‘सोसल डिस्टेन्सिङ’को नियमले सिनेमा हल र दर्शकबीच बढेको दूरी अझै पनि रिभाइभ हुन सकेको छैन ।

२ वर्षको अवधिमा एकदुई हलमा ‘अकुपेन्सी फुल’ हुने गरी दर्शक पुगे पनि धेरैजसो चलचित्रको हकमा भने दर्शकको संख्या नै पुग्न सकेको छैन ।

कोरोना कहरमा रुमलिएको सिनेमा हलको व्यवसाय रिभाइभ हुन नपाउँदै राजेन्द्र शाक्यले भने दरबारमार्गमा ‘लक्जरी’ सिनेमा हल शुरुवात गर्दैछन् ।

एभिएसन, हाउजिङ तथा वित्तीय संस्थासँगै पछिल्लो २५ वर्षदेखि गुण सिनेमामार्फत् सिनेमा हलको व्यवसाय गरिरहेका शाक्यको लगानीमा दरबारमार्गस्थित ‘दरबार मल’मा क्यूएफएक्सको व्यवस्थापन (फ्रेञ्चाइज)मा सिनेमा हल सञ्चालन हुने अन्तिम तयारीमा छ ।

हाल क्यूएफएक्स अन्तर्गत काठमाडौं सुन्धाराको सिभिल मल, ठमेलको छाँया सेन्टर, ललितपुरको लबिम मल, क्यूएफएक्स भक्तपुर, क्यूएफएक्स वन स्टप, क्यूएफएक्स दमौली, क्यूएफएक्स बुटवल, क्यूएफएक्स जाल्मा, क्यूएफएक्स बिराटनगर र क्यूएफएक्स बागेश्वरी सञ्चालनमा छन् । कोभिडका कारण यसअघिका जय नेपाल हल र कुमारी हल भने बन्द भइसकेका छन् ।

‘यहाँ सबै जनाका लागि लक्जरी सिट राखिएको छ । सिटमा हुने बटन थिचेर सुत्न मिल्ने पनि बनाउन सकिन्छ । हलमा सिनेमा देखाइने पर्दा १३/३० फिट राखिएको छ,’ उनले भने ।

दर्शकले सिनेमा हेर्दा खर्चेने समय आरामदायी होस् र सेवा सुविधा पनि सोही अनुसारले पाउन सकून भन्ने उद्देश्य रहेको उनको भनाइ छ ।

उनका अनुसार २५ वर्षअघि ललितपुरको ग्वार्कोमा रहेको गुण सिनेमा हलमा २५/६० फिटसम्म ठूला पर्दा छन् भने दर्शकको क्षमताका हिसाबले पनि १२ सय जना अट्न सक्ने सिनेमा हल पनि छन् ।

तर, सीमित दर्शकलाई धेरैभन्दा धेरै सुविधा दिने लक्ष्य दरबार मलमा रहेको सिनेमा हलको उद्देश्य रहेको उनको भनाइ छ । दर्शकका लागि कफीसपदेखि बार तथा सिटमै सर्भ गर्ने सुविधासमेत उपलब्ध गराइने शाक्यको भनाइ छ ।

‘२०५३ सालमा स्थापना हुँदा गुण सिनेमा निकै राम्रो हल थियो, अहिलेको अवस्थामा ‘क्यूएफएक्स दरबार मल’ सबैभन्दा राम्रो सिनेमा हल बनेको छ,’ उनले भने ।

उनले भारतलगायत अन्य मुलुकमा विभिन्न कामका सिलसिलामा जाँदा त्यहाँ रहेको सिनेमा हल जस्तै सिनेमा हल बनाउने उद्देश्यले यो सिनेमा हल निर्माण शुरु भएको हो । त्यसबाहेक ‘सपिङ मल’मा मोबिलिटी बढाउन पनि ‘सिनेमा हल’ र रेष्टुराँ उपयुक्त माध्यम बनेको उनको भनाइ छ ।

‘२०५३ सालमा चलचित्र सबैभन्दा सशक्त र प्रभावकारी माध्यम थियो, अहिले त्यसको विकल्पमा अनेकन माध्यम बनिसकेका छन्, त्यसैले दर्शकलाई हलसम्म ल्याउन उच्चतम प्रविधिको प्रयोगसँगै सेवा सुविधा थप्नै पर्ने अवस्था छ,’ उनले भने ।

मूल्य कति ?
सिनेमा हलमा टिकटको दर औसतमा १ हजार रुपैयाँ हुनेछ । त्यसबाहेक चलचित्र अनुसार टिकटको मूल्य १५ सयदेखि २ हजार रुपैयाँसम्म पनि पुग्न सक्छ ।

औसतमा ३ सयदेखि ५ सय रुपैयाँमा चलचित्र हेरिरहेका दर्शकले १ हजार रुपैयाँ किन तिर्ने त ?

‘हामीकहाँ उपलब्ध हुने सुविधा नै हो, एउटा हलमा ५० वटा मात्रै सिट हुनेछन् । सबै फोल्डिङ सिट हुनेछन् । सुतेरै सिनेमा हेर्न सकिन्छ,’ उनले भने ।

उनका अनुसार गुण सिनेमा हलमा ३ फिटको दूरीमा सिट राखिएको छ भने यहाँ ७ फिटको दूरीमा राखिएको छ । दूरी धेरै भएकाले दर्शकहरु एक आपसमा ‘टच’ भइराख्नु हुँदैन । उनले मूल्य तिरे अनुसारको सुविधा दर्शकले पाउने दाबी समेत गरे ।


कमलकुमार बस्नेत