नेपाल फर्किने एयर एसियाको चाहना, १८ करोड बक्यौता किस्ताबन्दीमा तिर्ने प्रस्ताव



काठमाडौं । नेपालमा उडान बन्द गरेको एयर एसियाले गन्तव्य परिवर्तन गरेर पुनः सेवा शुरु गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरबाट काठमाडौंमा ६ वर्ष नियमित उडान गरेको एयर एसिया एक्स घाटामा जान थालेपछि पाँच वर्षदेखि नेपालमा यसको उडान बन्द छ । यो वायुुसेवाले अब थाई एयर एसियाको नामबाट बैंकक-काठमाडौं दुईतर्फी उडान सुरु गर्न प्रक्रिया अगाडि बढाएको हो ।

एयर एसियाकै भगिनी कम्पनी थाई एसियाले बैंकक काठमाडौं सातामा ७ वटा उडान गर्न प्रक्रिया अगाडि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार यो वायुसेवा कम्पनीले १८ करोड बक्यौतालाई किस्ताबन्दीमा तिर्ने सुविधा माग गरेको छ । ४ करोड रुपैयाँ तिरिसकेको कम्पीले बाँकी बक्यौता चुक्ता गर्दै थाइल्याण्डको बैंककबाट काठमाडौं आउने इच्छा देखाएको हो ।

एयर एसिया थाइल्याण्डले एक वर्ष अगाडि नै नेपालमा उडान गर्ने इच्छा देखाएको भएपनि बक्यौता बाँकी राखेको मलेसियन कम्पनीकै वायुसेवालाई थाइल्याण्डबाट आउने भएपनि अनुमति रोकेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार मलेसियाबाट उडान गर्ने एयर एसियाले बक्यौता राखेका कारण थाइल्याण्डबाटसमेत आउन नपाएको हो ।

एयर एयसियाले पुनः नेपालमा उडान गर्न बक्यौता तिर्न थालेको, युनिभर्सल ट्राभल एण्ड टुर्सलाई जनरल सेल्स एजेन्ट्स (जीएसए) तोकेको र किस्ताबन्दीमा पैसा तिर्दै प्रक्रियासमेत अगाडि बढाएको छ । यो वायुेवाले दुई साता अगाडि मात्रै उडान अनुमतिको लागि निवदेन दिएको प्राधिकरणका सूचना अधिकारी भुलले बताए ।

आगामी अक्टोबरबाट काठमाडौं आउन चाहेको एयर एसिया थाइलाई ५ वटा उडान काठमाडौंमा गर्दा २ वटा भने भैरहवामा गर्न आग्रह उड्डयन प्राधिकरणले गरेको छ । भैरहवामा उडान गर्दा तत्कालै लाभ नहुने भएपछि चासो नदेखाएका विदेशी वायुसेवालाई हवाई सेवा सम्झौतामा काठमाडौं बाहिरका विमानस्थल नतोकिएको हुँदा दबाब दिन पनि नसकिएको प्राधिरकणका सूचना अधिकारी भुल बताउँछन् ।

११ वर्ष अगाडि मेलेसियाबाट काठमाडौंमा नियमित ६ वर्ष उडान गरेको एयर एसिया एक्सले यात्रु कम भएको र नेपाल उडानबाट लाभ नभएको भन्दै फिर्ता गएको थियो । अहिले यही वायुसेवा थाइल्याण्डबाट आउन चासो देखाएको छ । नेपालमा पर्यटक ल्याउन रुची देखाउने वायुसेवाको उडानका लागि मलेसियाबाट कुटनीतिक पहलसमेत भएको छ ।

थाइल्याण्डबाट हाल नेपालमा दुईवटा वायुसेवाले नियमित उडान गर्दै आएको छ । हाल थाइल्याण्डबाट थाइ लायन र थाइ एयरवेजको नियमिन उडान छ ।

एयर एसियाका लागि जीएसए नियुक्त भएको युनिभर्सल टुर्स एण्ड ट्राभलसँग एमिरेट्स एयर, कोरियन एयर, फ्लाई दुबईकोसमेत जीएसए छ । यस अघि एयर एयसियाको नेपाल जीएस पाएको हरिमान लामाको इन्सेन्टिभ टुर्सकोले जीएसए पाएको थियो । लामाकै वद्मासिका कारण नेपालबाट एयर एसिया एक्स फिर्ता गएको अर्थाइएको छ ।

नेपाल आउन दुई भारतीय वायुसेवाको रुची
नेपाल आउने थप दुई भारतीय वायुसेवाले समेत रुची देखाएका छन् । भारतीय वायुसेवा आकासा एयर र एयर इण्डिया एक्सप्रेसले नेपाल उडानमा चासो देखाएको हो । यी दुई वायुसेवाले नेपाल उडान गर्न रुची देखाएको भएपनि उडान अनुमति भने पाएको छैन् ।

भारतीय वायुसेवा आकास ४ वर्ष अगाडि मात्रै स्थापना कम्पनी हो । यो वायुसेवा कम्पनीसँग अमेरिकी जहाज कम्पनी बोइका ७३७ नामक २४ वटा जहाज छ । यसले आगामी १० वर्षमै २२६ वटा जहाज थप गर्ने रणनीति बनाएको छ ।

एयर इण्डिया र टाटा समूहको लगानी रहेको एयर इण्डया एक्सप्रेससँग भने ५० जहाज छ । यो वायुसेवाले अर्डर दिइसकेको र थपको योजना बनाइरहेको जहाजको संख्या ५० वटाभन्दा बढी पुगिसकेको छ । १९ वर्ष अगाडि उडान शुरु गरेको एयर इण्डियन एक्सप्रेससँग एयरबसका ४ र बोइङका ४५ वटा जहाज छ ।

हाल नेपालमा हाल २८ वटा अन्तर्राष्ट्रिय वायुसेवाले नियमित उडान गरिरहेको छन् । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या भने तीनवटा मात्रै छन् । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले नियमति अन्तर्राष्ट्रिय उडान गर्छ भने बुद्ध एयरले भारतको वनारसमा मात्रै उडान गर्छ ।


राजु बास्कोटा