कोरोना महामारीमै घरजग्गा कारोबार उच्च, जग्गाको मूल्य ८० प्रतिशतसम्मले बढ्यो



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस फैलिएको २ वर्ष नाघिसकेको छ । २ वर्ष बितिसक्दा पनि कोरोना भाइरस साम्य हुन सकेको छैन ।

कोरोना भाइरस महामारी संक्रमणले लाखौंले ज्यान गुमाए । साथै, कोरोनाकै कारण अर्थतन्त्रमा संकट आएको अवस्था छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको निषेधाज्ञा र लकडाउनका कारण लाखौंले रोजगारी गुमाए भने व्यापार व्यवसाय निकै असर पुग्यो ।

नेपालमा पनि कोरोनाले निकै असर पारेको छ । २ वर्षअघि नेपालमा फैलिएको कोरोना महामारीले नेपालको अर्थतन्त्रमा धेरै असर पु¥याएको छ । कोरोनाले थलिएको पर्यटन, सिनेमा, पार्टी प्यालेस, रात्रिकालिन व्यवसाय हालसम्म तंग्रिन सकेको छैन ।

अन्य व्यापार व्यवसाय कोरोनाले निकै असर पु¥याएको अवस्थामा घरजग्गा कारोबारमा भने उछाल आएको छ । विगतको दिनमा पनि उच्च रुपमा कारोबार हुँदै आएको घरजग्गाको कारोबारमा भने कोरोनाले कुनै असर परेको देखिँदैन ।

कोरोनाअघि मासिक ८० हजारको हाराहारीमा किनबेच हुँदै आएकोमा कोरोनाको समयमा भने मासिक ७० हजारको संख्यामा घरजग्गा किनबेच भएको सरकारी तथ्याङ्क छ ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा र लकडाउनको समयमा कारोबार नहुँदा भने विगतको तुलनामा कारोबार कम भएको देखिन्छ । तर, कोरोनाकै समय उक्त संख्यामा कारोबार भएको उच्च रहेको सरोकारवालाहरू बताउँछन् ।

लकडाउन र निषेधाज्ञाले गर्दा निरन्तर सेवा प्रवाह नहुँदा कारोबार संख्या कम देखिएको हो । तर, निरन्तर सेवा प्रवाह गरेमा सामान्य अवस्थाको तुलनामा पनि बढ्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार गत वर्ष सामान्य अवस्थाको तुलना उच्च रुपमा घरजग्गा किनबेच भएको देखाउँदछ । कोभिडकै समय भएपनि गत वर्ष ८ लाख ४४२ घरजग्गा किनबेच भएको थियो । उक्त संख्या कोभिड आउनुभन्दा अघिको आर्थिक वर्षभन्दा बढी हो ।

सामान्य अवस्था अर्थात् आर्थिक वर्ष २०७५/७६ मा ७ लाख ४९ हजार ४५१ घरजग्गाको किनबेच भएको थियो । तर, आव २०७६/७७ को अन्त्यतिर लकडाउन तथा निषेधाज्ञाले सेवा प्रवाह नहुँदा कारोबार प्रभावित भएको थियो । सो वर्ष ५ लाख ६९ हजार ७३७ घरजग्गा किनबेच भएको थियो ।

त्यस्तै, हाल पनि कोरोना कै समय छ । सो अवधिमा उच्च रुपमा कारोबार भएको विभागको तथ्याङ्क छ । विभागअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५ लाख २७ हजार ९५० घरजग्गा किनबेच भइसकेको छ ।

जग्गाको मूल्य ८० प्रतिशतसम्म वृद्धि
नेपाल राष्ट्र बैंकले गत मंसिरमा सार्वजनिक गरेको घरजग्गा मूल्य सर्वेक्षणअनुसार घरजग्गाको मूल्य वार्षिक २६.४५ प्रतिशतले बढ्दै गएको जनाएको थियो । राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ मा घरजग्गा कारोबार भएको आधारमा सो प्रतिशतले बढेको देखाइएको थियो ।

तर, पछिल्लो कोरोनाको समयमा भने जग्गाको मूल्य ८० प्रतिशत बढीले बढेको घरजग्गा व्यवसायीहरू बताउँछन् ।

कोरोना भाइरस महामारीको समयमा लगानीगोग्य अधिकांश व्यवसाय बन्द भएको अवस्थामा व्यवसायीहरू आफ्नो लगनाी सुनिश्चित गर्नका लागि घरजग्गामा लगानी गरेको घरजग्गा व्यवसायीहरूको भनाइ छ । घरजग्गा व्यवसायीका अनुसार कोरोनाको समयमा व्यवसायीले घरजग्गामा लगानी गर्दा ह्वात्तै बढेको हो ।

कोरोनाको समयमा उच्च रुपमा घरजग्गामा लगानी बढेसँगै घरजग्गाको मूल्य अचाक्ली बढेको छ । पछिल्लो कोभिडको समयमा कारोबार बढेसँगै जग्गाको मूल्य ८० प्रतिशतसम्म मूल्य बढेको व्यवसायीहरूले बताएका छन् ।

हरेक वर्ष जग्गाको मूल्य वृद्धि हुँदै जाने गर्दछ । तर, कोभिडको समयमा ठाउँअनुसार मूल्य ५० देखि ८० प्रतिशतसम्म बढेको उनीहरूको भनाइ छ ।

त्यस्तै, पछिल्लो समय कारोबार भएको संख्या र राजस्व संकलनको तथ्याङ्कले पनि जग्गाको मूल्य उच्च रुपमा बढेको तथ्याङ्कले स्पष्ट पार्दछ । कोभिडकै समयमा मूल्यवृद्धि भएका कारण उच्च रुपमा राजस्व संकलन हुँदै आएको छ । साथै, सोही समयमा राजस्व संकलनले नयाँ इतिहास कायम गरेको छ ।

सामान्यतया कोभिड अगाडि काठमाडौंमा कुनै पनि जग्गा प्रतिआना १५ लाखमा खरिद गरेको थियो भने अहिले उक्त जग्गाको मूल्य २४ देखि २५ लाख रुपैयाँमा खरिद बिक्री हुन थालेको घरजग्गा व्यवसायी सुरेश तामाङ बताउँछन् ।

उनका अनुसार कोभिड अगाडि प्रतिआना अधिकतम १५ लाख भन्ने स्थानमा अहिले २२ लाखभन्दा कम मूल्यमा नपाउने अवस्था आएको छ ।

विभागको तथ्याङ्कअनुसार कोभिडभन्दा अगाडि उच्च रुपमा घरजग्गाको कारोबार गरिएपनि राजस्व संकलन निकै कमजोर थियो । तर, कोभिडको समयमा कारोबार कम भएपनि राजस्व संकलन भने उच्च भएको छ ।

जसमा कोभिडको समयमा कारोबार भएको संख्या कम भएको अवस्थामा पनि राजस्व संकलन भने दोब्बर उठेको छ । उक्त संकलित राजस्व छुटबाहेकको रकम हो । त्यसैले, सरकारले संकलन गरेको राजस्वको आधारले पनि घरजग्गाको मूल्य झण्डै दोब्बरले बढेको देखिन्छ ।

त्यस्तै, चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ५ लाख २७ हजार घरजग्गाको कारोबार हुँदा ५० अर्ब ७ करोड ३६ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सो राजस्व संकलन हुँदा घरजग्गाको मूल्य अत्यधिक बढेको सरोकारवालाको भनाइ छ ।


अरिष्मा मोक्तान