केजीकै ४ हजार पुगेको कुरिलोको मूल्य ७ सयमा झर्‍यो



काठमाडौं । एक महिना अघिसम्म केजीकै ४ हजार रुपैयाँमा पनि पाउन मुस्किल हुने कुरिलो अहिले प्रतिकेजी ७ सय रुपैयाँमा झरेको छ ।

एक महिना अघिसम्म बजारमा कुरिलोको अभाव हुँदा मूल्य आकाशिएको थियो । त्यो समयमा प्रतिकेजी ४ हजारमा पनि बजारमा पाउन मुस्किल थियो ।

कालीमाटी तरकारी तथा फलफूल विकास समितिले गत माघको शुरुवातीदेखि नै कुरिलो अभाव भएको जनाएको थियो ।

उक्त समयमा कुरिलो अभाव हुँदा कालीमाटी बजारमै प्रतिकेजी ४ हजार रुपैयाँ मूल्य तोकिएको थियो । बजारमा उच्च माग तर कम कुरिलो भित्रिँदा बजारमा मूल्य निकै आकासिएको समितिको भनाइ छ । खुद्रा व्यवसायीहरुले भने कुरिलो प्रतिकेजी ४ हजारदेखि ६ हजार रुपैयाँसम्म बिक्री गरेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

चिसो मौसममा सुप खाना उच्च रुपमा माग हुने कुरिलो पछिल्ला दिनहरूमा भने निकै सस्तिँदै गएको छ ।

बजारमा किसानहरूले उत्पादन गरेको कुरिलो बजारमा आउन थालेपछि कुरिलो सस्तिँदै गएको श्रेष्ठ बताउँछन् ।

‘अहिले बजारमा कृषकले उत्पादन गरेको कुरिलो पर्याप्त मात्रामा आउन थालेको छ,’ उनले भने, ‘अहिले समितिले प्रतिकेजी औसत ६०० देखि ८०० रुपैयाँ मूल्य तोकेको छ ।’

श्रेष्ठको अनुसार गर्मी समयमा कुरिलो कम खपत हुने र सोही अवधिमा पर्याप्तमा मात्रामा कुरिलो आउने भएकाले सस्तिएको हो ।

समितिका अनुसार फागुन १७ गते कुरिलोको औसत मूल्य १४ सय ५० रुपैयाँ तोकिएको थियो । तर अहिले कुरिलोको आपूर्ति बढेसँगै मूल्य घटेको हो ।

अहिले बजारमा खपत कम हूँदा व्यवसायीहरू भने चिन्तित बनेका छन् । विगतमा दैनिक प्रतिकेजी १ हजार ४०० मा बिक्री भइरहेको कुरिलो अहिले थोकमा प्रतिकेजी ४ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

कुरिलोको विशेष गरी चैत, वैशाख र जेठदेखि असारसम्म धादिङ, चितवनलगायतका जिल्लाबाट बढी आपूर्ति हुन्छ । अहिले कुरिलोको सिजन शुरु भएसँगै आपूर्ति बढेको उनको भनाइ छ ।


क्लिकमान्डु