अमेरिका, बेलायत, जापान र क्यानडाले नेपालसँग किन्छन् कुकुर र बिरालोले खाने अर्बौंको दाना



काठमाडौं । नेपालबाट निर्यात हुने प्रमुख वस्तुको रुपमा कुकुर तथा बिरालोले खाने दाना रहेको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा निर्यातित तथ्याङ्कअनुसार नेपालबाट निर्यातित हुने प्रमुख वस्तुमा परेको हो ।

नेपालबाट प्रमुख वस्तुको रुपमा यसभन्दा अगाडि कुकुर तथा बिरालोले खाने दाना समेटिएको थिएन । तर, पछिल्ला दिनमा निर्यात बढ्दा कुकुर तथा बिरालोको दाना पनि निर्यात वस्तुको प्रमुख लिस्टमा परेको हो ।

नेपालबाट भटमासको तेल, पाम आयल, धागो, कार्पेट, अलैंची, चिया, पस्मिना, टेक्सटायल, पास्ता तथा नुडल्स, रेडिमेड गार्मेन्ट, खोटा, अदुवालगायत अन्य वस्तु उच्च रुपमा निर्यात हुँदा प्रमुख निर्यातित वस्तुको रुपमा समावेश हुँदै आएको थियो । तर, अहिले उच्चरुपमा कुकुर तथा बिरालोको दानाहरू निर्यात भएकाले सरकारले प्रमुख वस्तुको रुपमा समावेश गरेको छ ।

निकासी तथा प्रवद्र्वन केन्द्रको तथ्याङकअनुसार नेपालबाट निर्यातित वस्तुमध्ये कुकुर तथा बिरालोको दाना १४औं नम्बरमा समावेश गरिएको छ ।

उच्चरुपमा निर्यात भएको वस्तुको वर्गीकरणको आधारमा उक्त वस्तु १४औं नम्बरमा परेको तथ्याङ्कमा उल्लेख छ । यसअघि कुकुर तथा बिरालोको दाना निर्यात भए पनि सरकारले निर्यातित वस्तुको प्रमुख लिस्टमा समावेश गरेको थिएन ।

नेपालमा प्रत्यक्षरुपमा यस क्षेत्रको उद्योग विस्तार हुन सकेको छैन । तर, लघु तथा घरेलुरुपमा उत्पादन गर्दै आएको उक्त वस्तुको निर्यातले थप नयाँ आयाम थपेको देखिन्छ ।

विगत लामो समयदेखि कुकुर तथा बिरालोको दाना उत्पादन गरी निर्यात गर्दै आएको हिमालयन डग चिउ म्यानुफ्याक्चर एण्ड होलसेलर इन नेपालका सञ्चालक गौरव श्रेष्ठले नेपालमा कुकुर तथा बिरालोको दाना बनाउने उद्योग भनेर ठूलो रुपमा उद्योग विस्तार नभएको बताए ।

उनकाअनुसार नेपालमा घर-घरमा बसेर उक्त वस्तु उत्पादन गर्ने भएकाले यस क्षेत्रमा धेरैको ध्यान छैन । तर, पनि धेरै नेपालीले उत्पादन गरेर विदेशमा पठाइरहेको छ । साथै, पछिल्लो दिनमा माग बढ्दै उनको भनाइ छ ।

‘नेपालमा कुकुर तथा बिरालोको दाना घर-घरमा बसेर उत्पादन गर्दै आएको छ,’ उनले भने, ‘व्यवसायीहरूले सो वस्तु उत्पादन गरेर आन्तरिक तथा विदेशमा निर्यात गर्दै आएको छ ।’

व्यवसायीहरूले आफ्नै घरमा उत्पादन भएको वस्तुलाई मागअनुसार निर्यात गर्दै आएको देखिन्छ । जसमा उद्यमीहरूले सो वस्तु उत्पादनका लागि बढी दुग्धजन्य पदार्थ उच्चरुपमा खपत गर्दै आएको श्रेष्ठको भनाइ छ ।

हाल नेपालमा ठूलो लगानीमा विस्तार नभए पनि ५ सयदेखि ६ सयको हाराहारीमा घरमै व्यवसाय सञ्चालन गरेर कुकुर तथा बिरालोको दाना उत्पादन गरी निर्यात गर्दै आएको उनको दाबी छ ।

व्यवसायीहरूले वैदेशिक व्यापारमा ठूलो योगदान पुर्याउँदै आए पनि यस क्षेत्रमा भने सरकारले ध्यान नदिएको गुनासो पोखे ।

नेपालले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १ अर्ब ४२ करोड ५० लाख ५२ हजार रुपैयाँको ८ लाख ८० हजार ६९३ केजी कुकुर तथा बिरालोको दाना निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्दछ । त्यस्तै, गत वर्षको सोही अवधिमा नेपालले १ अर्ब ३ करोड ५४ लाख ३३ हजारको ६ लाख ५९ हजार ६ सय केजी निर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आवको ७ महिनाको अवधिमा ३७.६३ प्रतिशतले बढी निर्यात भएको तथ्याङ्ले देखाउँदछ ।

५ वर्षमा साढे ५ अर्ब बढीको निर्यात

नेपालले ५ वर्षको अवधिमा साढे ५ अर्ब रुपैयाँभन्दा बढी निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले उल्लेख गरेको छ । नेपालबाट ५ वर्षको अवधिम ५ अर्ब ६५ करोड २१ लाख ९७ हजार रुपैयाँको ३५ लाख ६९ हजार ८५७ केजी कुकुर तथा बिरालोले खाने दाना निर्यात गरेको छ ।

नेपालले आव २०७६/७८ मा १ अर्ब ९६ करोड ५० लाख ४६ हजारको १२ लाख ६२ हजार ९९८ केजी, आव २०७६/७७ मा १ अर्ब २२ करोड ८३ लाखको, आव २०७५/७६ मा १ अर्ब ५ करोड २८ लाखको, आव २०७४/७५ मा ८५ करोड ७९ लाखको र २०७३/७४ मा ५४ करोड ८० लाखको निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

अमेरिका मुख्य बजार

नेपालबाट निर्यात हुने कुकुर र बिरालोको दानाको मुख्य बजार अमेरिका रहेको छ । नेपालले ७ महिनाको अवधिमा १ अर्ब ४२ करोडको निर्यात गरेकोमा अमेरिकामा मात्र १ अर्ब १९ करोड २८ लाख रुपैयाँको ६ लाख ७७ हजार केजी अमेरिकामा निर्यात गरेको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, क्यानाडामा १४ करोड ९३ लाखको, जापानमा १ करोड ५५ लाखको, बेलायतमा १ करोड ४६ लाखको, कम्बोडियामा १ करोड ४३ लाखको र नेदरल्यान्डमा १ करोड १ लाखको निर्यात गरेको छ । साथै, हङ्कङमा ६६ लाखको, सिङ्गापुरमा ६७ लाखको, चीनमा ३५ लाख र अन्य जर्मनी, ग्रिस,पोल्यान्ड, थाइल्यान्डलगायत अन्य देशमा निर्यात गरेको छ ।

५ वर्षमा ३३ करोडको आयात

नेपालबाट उच्च रुपमा निर्यात हुन थालेको कुकुर र बिरालोको दाना केही मात्रामा आयात हुँदै आएको छ । नेपालले ५ वर्षको अवधिमा ३३ करोड १९ लाख ९६ हजारको २४ लाख ९० हजार केजी दाना आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । उक्त आयातित दानाबाट नेपालले ८ करोड ३९ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको देखिन्छ ।

नेपालले आव २०७७/७८ मा १० करोड ८२ लाखको, आव २०७६/७७ मा ५ करोड ८६ लाखको, आव २०७५/७६ मा ७ करोड ५९ लाखको, आव २०७४/७५ मा ३ करोड ७५ लाखको र २०७३/७४ मा ५ करोड १६ लाखको आयात गरेको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्दछ । साथै, चालु आवको ७ महिनाको अवधिमा ६ करोड ६९ करोडको दाना आयात गरेको छ ।


अरिष्मा मोक्तान